Byroad News

Loading...

कक्षा १२ को भौतिक परीक्षा नगर्न सरकारलाई दबाब, रोक्न भन्दै ६० हजार ट्वीट


कक्षा १२ को भौतिक परीक्षा नगर्न सरकारलाई दबाब, रोक्न भन्दै ६० हजार ट्वीट

काठमाडौं/२० साउन
साउन २९ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा रोक्न दबाब दिँदै विद्यार्थी तथा सरोकारवालाहरुले चलाएको ‘क्यान्सल एनइबी एक्जाम’ ह्यासट्याग ट्रेन्डिङ भएको छ।

बुधबार साँझसम्म यो ह्यासट्यागमा ६० हजारभन्दा बढीले ट्वीट गरिसकेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले साउन २९ देखि नै परीक्षा सञ्चालन गर्न आवश्यक तयारी गरिरहे पनि यसलाई रोक्न दबाब परिरहेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहर सुरु हुन लागेको हुँदा स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिएर आन्तरिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्ने प्रस्ताव गरे पनि यसबारे कुनै निर्णय भइसकेको छैन। स्नातकोत्तर तेस्रो सत्रको परीक्षा भौतिक रुपमा बुधबारदेखि सुरु भएको छ भने स्नातक प्रथम तथा दोस्रो वर्षका परीक्षा धमाधम भइरहेका छन्।

कक्षा १२ को आसन्न परीक्षा रोक्न भने सरकारलाई लगातार दबाब परिरहेको छ। विद्यार्थी तथा अन्य सरोकारवालाहरुले कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको भन्दै भौतिक परीक्षा सञ्चालन गर्ने भनेर सरकारले लापरवाही गरेको आरोप लगाएका छन्।

विद्यार्थीहरुले भ्याक्सिन नलाएको अवस्थामा परीक्षा लिनु गलत भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाइ छ। उनीहरुले एसइइ र कक्षा ११ को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको तर कक्षा १२ को भने भौतिक रुपमा परीक्षा सञ्चालन गर्न लागिएकोमा आपत्ति जनाएका छन्।

Comments

KATHMANDU WEATHER