थाहानगर/३ असार
मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।
स्थानीय स्तरमा फुटबल खेलको विकास तथा युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बिष्टले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नु भएको छ ।
७ टोली सहभागी रहेको प्रतियोगिताको उद्घाटन खेलमा पाखुरे युवा क्लब, थाहा–७ र थाहा नगरपालिका टोलीबीच प्रतिस्पर्धा भएको थियो। निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा पाखुरे युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै थाहा नगरपालिका टोलीलाई ५–४ गोल अन्तरले पराजित गर्यो। निर्णायक क्षणमा उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका पाखुरे युवा क्लबका गोलकिपर सागर तामाङ प्रतियोगिताको उद्घाटन खेलका ‘म्यान अफ दि म्याच’ घोषित हुनु भयो ।
प्रतियोगिता असार ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता अन्तर्गत भोलि बिहान समूह ‘बी’ को पहिलो खेलमा सक्रिय युवा क्लब थाहा–४ र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ। आयोजक शिखर क्लबले भने प्रतियोगिताको पहिलो चरणमा ‘बाइ’ पाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख रुपियाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख रुपियाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १२ हजार ५ सय रुपियाँ प्रदान गरिनेछ। यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) लाई जनही ६ हजार २५० रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिँदै प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।
स्थानीय खेलप्रेमीहरूको उत्साहजनक उपस्थितिबीच सुरु भएको प्रतियोगिताले आगामी दिनमा थप प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू प्रस्तुत गर्ने विश्वास लिइएको छ।
प्रतियोगिताको अफिसियल मिडिया पार्टनरका रूपमा टिम टेलिभिजन,थाहापाटी डट कम, पालिकाप्रेस, थाहा टाइम्स, बाइरोडन्युज, पालिकाडायरी, सतमार्ग अनलाइन र साझाकुरा दैनिक रहेका छन् ।
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 years agoआजको तरकारी बजार भाउ

Comments