थाहानगर/८ जेठ
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मकवानपुरको थाहा नगरपालिकामा उपमेयरसहित ३ वटा वडा अध्यक्ष समेत निर्वाचित भएको नेपाली काँग्रेसको वडा नं. ८ मा भने धरौटी नै जफत भएको छ ।
निर्वाचन आयोगका अनुसार कुल खसेको मतको १० प्रतिशत मत प्राप्त नगर्ने दल तथा उमेदवारको धरौटी जफत हुने गर्दछ । थाहा नगरपालिका ८ मा कुल २३९९ मतदाता रहेकोमा १६९३ मत खसेको थियो । जसअनुसार धरौटी जोगिन कम्तिमा १७० मत प्राप्त गर्नु पर्ने हुन्छ । तर, नेपाली काँग्रेसका उमेदवार रामकुमार घलानले जम्मा २८ मत प्राप्त गरी धरौटी नै जफत हुन पुगेको हो । तर, नेपाली काँग्रेसकै तर्फबाट खुल्ला सदस्यका उमेदवार शोभित ढकालले २६८, दलित महिला सदस्य पदका उमेदवार कौशिल्या विश्वकर्माले २४७, खुल्ला सदस्य पदका उमेदवार डम्बर बहादुर थिङले २४४ र महिला सदस्य पदका उमेदवार रिमामाया घलानले २४२ मत प्राप्त गरी धरौटी जोगाएका छन् । यो आधारमा अध्यक्ष पदका उमेदवारको मत किन यति कम भयो भन्ने विषयमा नेपाली काँग्रेसभित्र गम्भीर समीक्षाको विषय बनेको काँग्रेस स्रोतले बताएको छ ।
यसैगरी, थाहानगरको प्रमुख र उपप्रमुखमा कुल २३ हजार ३३ मत खसेकोमा गठबन्धनका तर्फबाट मेयरका उमेदवार विष्णुबहादुर विष्ट र नेकपा एमालेका उमेदवार अचुतम प्रसाद ढकालबाहेक सबै उमेदवारहरुको धरौटी जफत भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय जनमोर्चाका उमेदवार शुभराज गोलेले ४६२, मंगोल नेशनल अर्गानाइजेशनका राजकुमार गोलेले २७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका बसुन्धरा पुडासैनीले १९१ र विरबहादुर भोम्जनले ८८ मात्र मत पाई धरौटी जोगाउन सकेनन् ।
त्यस्तै, उपमेयरमा राप्रपाका नविन रायमाझीले २५४ मतमा सीमित रहँदै धरौटी जोगाउन सकेनन् ।
वडाअध्यक्षहरुमा १ नम्बर वडाका सबै उमेदवारहरुले धरौटी सुरक्षित गरेका छन् । २ नम्बर वडामा एमाले, माओवादी र कांग्रेस बाहेक अन्य सबै दलका उमेदवारहरुको धरौटी जफत भएको छ । राप्रपाका तर्फबाट अध्यक्ष उदका उमेदवार कुलमान तमाङले १२, मंगोल नेशनल अर्गानाइजेशनका सुनिल लो तमाङले ५ र नेकपा एकीकृत समाजवादीका वीरबहादुर तमाङले २ मत प्राप्त गरी धरौटी गुमाएका छन् ।
वडा नं.३ मा पनि प्रमुख दलहरुबाहेक राप्रपाको उमेदवारी थियो तर राप्रपाका उमेदवार प्रमोद केसीले ३४ मतमा सीमित रहँदै धरौटी जोगाउन सकेनन् । वडा नं.४ मा पनि तीन प्रमुख दलहरुबाहेक राप्रपाका अक्रोज केसीले ९ मत मात्र पाएर धरौटी गुमाएका छन् । वडा नं. ५ मा पनि ३ प्रमुख दलहरुबाहेक नेपा: राष्ट्रिय पार्टीका पूर्ण बहादुर थिङ तमाङले चुनाव चिन्ह खड्गमा जम्मा २ मत प्राप्त गरी धरौटी गुमाएको छ ।
वडा नं.६ मा राप्रपाका श्यामकृष्ण ढुंगानाले १० मत र नेकपा एकीकृत समाजवादीका इश्वरलाल रुम्बाले ८ मत पाएर धरौटी गुमाएको छ । यसैगरी, थाहा ७ मा पनि ३ प्रमुख दलहरुबाहेक जनता समाजवादी पार्टी, नेपालका इन्द्रकुमार ठकुरीले १५, राप्रपाका विश्वनाथ गर्तौलाले ९ र मंगोल नेशनल अर्गानाइजेशनका दिपक स्याङ्तानले ५ मत प्राप्त गरी धरौटी गुमाएको छ ।
वडा नं. ९ मा पनि ३ प्रमुख दलहरुबाहेक राप्रपाका पुण्यमान बलामीले ४८ र स्वतन्त्र उमेदवार सरोजकुमार रेग्मीले १६ मत प्राप्त गरी धरौटी गुमाएका छन् । वडा नं. १० मा प्रमुख ३ दलबाहेक अरुको उमेदवारी थिएन । तीनै दलका उमेदवारहरुको न्यूनतमभन्दा बढी मत प्राप्त गरेका छन् । वडा नंं. ११ मा नेकपा एमाले, नेकपा माओधादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी बाहेक राप्रपाका पोष्टबहादुर मोक्तानले १३ र सुरज बल तमाङले ३४ मत प्राप्त गरी धरौटी गुमाएका छन् ।
वडा नं.१२ मा नेकपा एमाले र गठबन्धनका बीच मात्र प्रतिस्पर्धा थियो ।
आयोगमा उमेदवारी दर्ता गर्दा नगर प्रमुख र उपप्रमुखलाई १ हजार ५ सय, वडा अध्यक्षलाई १ हजार र सदस्यलाई ५ सय रुपैयाँ धरौटी वापत शुल्क लाग्थ्यो । तर, महिला उमेदवारका लागि ५० प्रतिशत छुट थियो । धरौटी सुरक्षित रहेका उमेदवारहरुलाई ३ महिनापछि सम्बन्धित बैंक खातामार्फत् धरौटी फिर्ता गरिनेछ ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments