Byroad News

Loading...

सबै व्यक्ति आत्मनिर्भर हुनुपर्ने पूर्व मुख्यमन्त्री पौडेलको भनाई


सबै व्यक्ति आत्मनिर्भर हुनुपर्ने पूर्व मुख्यमन्त्री पौडेलको भनाई

हेटौंडा/४ चैत्र
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले हरेक ब्यक्ति आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । आत्मनिर्भर हुन हरेक मान्छे कुनै न कुनै तवरले आय आर्जनमा लाग्नुपर्ने बताउनुभयो । 

जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा गठित वडा स्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा क्षमता बिकास तालिमको उद्घाटन गर्दै प्रथम मुख्यमन्त्री पौडेलले तालिम लिएपश्चात यसलाई दैनिक जीवनमा लागू गर्न आग्रह गर्नुभयो ।

सबै युवाले देशमा नै बसेर पसिना बगाउनुपर्ने बताउनुभयो । ब्यबहारिक सिप आर्जन गरेर रोजगारीको बाटोमा जानुपर्ने उहाँको धारणा थियो । लिएको तालिमलाई अधिकतम व्यवहारिक जीवनमा लागू गर्ने वातावरण पनि युवाहरुले बनाउनु पर्ने उहाँले बताउनुभयो ।

उहाँले नेपालमा बसेर काम गर्न लाज मान्ने परिपाटी रहेको तर बिदेशमा गएर सोही काम गर्न नहिच्किने बानी रहेकोले यसलाई सुधार गर्न पनि युवाहरु अगाडि बढ्नुपर्ने बताउनुभयो ।
युवा परिवर्तनका सम्वाहक रहेको बताउनुहुँदै उहाँले रुपान्तरणका लागि युवाको भूमिका आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पुर्व मन्त्री जुनेली श्रेष्ठले युवाहरुका कारण धेरै परिबर्तन सम्भव भएको बताउनुभयो । । यो तालिमबाट दक्ष जनशक्ति उत्पादन हुनेमा आफू बिश्वस्त रहेको पनि उहाँले बताउनुभयो । 

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिबहरि दाहालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका वडाध्यक्ष रामकुमार पुडासैनी, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, ७ नम्बर वडाध्यक्ष राजन थापा, १० नम्बर वडाध्यक्ष किताप सिंह लामा, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्कालगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । 

युवा क्लबका पदाधिकारी तथा सदस्यहरु लक्षित तालिम २ चरणको हुने र ३ दिनसम्म सन्चालन गरिने जिल्ला युवा समितिका अध्यक्ष दाहालले जानकारी दिनुभयो । तालिममा प्रशिक्षक रिपेश दाहाल र राज शाहीले सहजीकरण गरिरहनुभएको छ ।

Comments

KATHMANDU WEATHER