Byroad News

Loading...

माओवादी थाहा नगरको नेतृत्व निर्वाचन विधिबाट टुङ्याइने


माओवादी थाहा नगरको नेतृत्व निर्वाचन विधिबाट टुङ्याइने

थाहानगर/२५ माघ
नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको नेतृत्व निर्वाचन विधिबाट टुङ्याइने भएको छ ।

गत मङ्सिर ११ गते नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको अधिबेशनबाट नेतृत्व चयनमा सर्वसम्मत हुन नसकेपछि ५८ सदस्यीय नगर सदस्य मात्रै टुङ्याएर अधिवेशन सम्पन्न गरेको थियो । 

अब यिनै ५८ जना सदस्य मध्येबाट पदाधिकारी टुङ्याउनु पर्ने छ । माओबादी नेतृत्वले पटक पटक सर्वसम्मतिको भित्री प्रयास गरिरहेको भएपनि मंगलबारसम्म सफल हुन सकेन । अध्यक्ष पदका लागि अरुण रायमाझी र बिनोद लामाको दाबी थियो । दुबै आकांक्षीले आफ्नो अडान कायम गरिरहेपछि माओवादी नेतृत्व निर्वाचनको विधिमा पुग्ने निर्णयमा पुगेको बताइएको छ । 

दुई उम्मेदवारमध्ये माओवादीको माथिल्लो नेतृत्वले पुरानै नेतृत्वको आवश्यकता रहेको भन्दै अशिवेशनमा दबाब सिर्जना गरेको माओवादीका नगरस्तरीय एक नेताले बताउनु भयो । तर, नगर कमिटीको नेतृत्वका लागि बिनोद लामाले पनि आफ्नो अडान कायमै राखेपछि माथिल्लो नेतृत्वको निर्णय सर्वसम्मत हुन सकेन । अन्ततः सबै आकांक्षीसहितको ५८ सदस्यीय नगर कमिटी गठन गरेर अधिवेशन टुङ्याइएको थियो । अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका अर्का उम्मेदवार मनोज अधिकारीले सर्वसम्मतिको प्रयासका लागि उम्मेदवारी फिर्ता लिनु भएको थियो । तर, अब निर्वाचनमै जाने भए आफ्नो पनि उम्मेदवारी कायमै रहने बताउनु भएको छ ।

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसङ्गै माओवादीलाई नेतृत्व चयनको दबाब परेको हो । अध्यक्ष बाहेक अन्य  पदाधिकारीहरुमा सर्वसम्मत हुने अनुमान गरिएको भएपनि अध्यक्ष पदको निर्वाचन भएमा अन्य पदमा समेत सर्वसम्मत हुने सम्भावना नहुन सक्ने अवस्था छ । तथापि, माघ २८ गतेसम्म पनि सर्वसम्मतिको प्रयास भने कायमै रहने बताइएको छ । 

अब बन्ने नगर कमिटीलाई माओवादी वृत्तभित्र स्थानीय निर्वाचनलाई समेत जोडेर विश्लेषण गर्न थालिएको छ ।

माओवादीको नगर कमिटीमा ७ जना मनोनित सदस्य समेत गरि ६५ सदस्यीय रहेन व्यवस्था छ । 

Comments

KATHMANDU WEATHER