Byroad News

Loading...

एमाले नगर अधिवेशन आज, थाहाको अध्यक्षमा प्रधान र ढकालको उम्मेदवारी पक्का


एमाले नगर अधिवेशन आज, थाहाको अध्यक्षमा प्रधान र ढकालको उम्मेदवारी पक्का

थाहानगर/१३ कात्तिक
नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत मकवानपुरका अधिकांश पालिकाहरुको अधिवेशन आज शनिबार हुँदैछ । 

सोही अन्तर्गत थाहा नगरको अधिवेशन पनि आजै हुने र अधिवेशनको उद्घाटन स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले जेसीज हलमा गर्नु हुने थाहानगर एमालेले जनाएको छ ।

कुल ३०७ जना प्रतिनिधिले सहभागिता जनाउने अधिवेशनको बन्द सत्रले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र ७० सदस्यसहित कुल ७५ सदस्यीय नगर कमिटीको निर्वाचन गरिने जनाएको छ । कात्तिक ६ गते एकै साथ सम्पन्न वडा अधिवेशनहरुबाट छानिएर आएका प्रतिनिधिहरुको नाम बिहीबार बसेको नगर कमिटीको बैठकले अनुमोदन गरिसकेको छ । 

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नगर सचिव कुमार नेगीले जानकारी दिनु भयो ।

अधिवेशनमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा सुरेन्द्रमान प्रधान र अच्युत्तम प्रसाद ढकालले उम्मेदवारी हाल्ने निश्चित देखिएको छ । दुबै जना यस अघि एउटै खेमामा उभिएका थिए । प्रधान ढकालको अध्यक्षीय कालमा दुई पटक सचिव रहिसक्नु भएको छ ।

प्रधान नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीति यात्रा सुरु गरेका व्यक्ति हुनुहुन्छ । प्रधान अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै २०५८ मा मकवानपुर जिल्ला कमिटीको उपाध्यक्ष सम्म बनेका थिए । प्रेस चौतारी, युवा संघ हुँदै एमालेको मुलधारको राजनीतिमा लाग्नु भएको थियो । एमालेमा थाहानगर प्रस्तावित कमिटीको सचिव हुँदै दुई कार्यकाल नगर सचिवको जिम्मेवारीमा रहेर पछिल्लो पटक एमालेमा फुटको असरपछि जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
 
प्रधान लामो समयदेखि थाहानगर उद्योग वाणिज्य संघमा महासचिवको जिम्मेवारीमा हुनुहुन्छ । सामाजिक कार्यमा अग्रणी भूमिकामा देखिनु हुने प्रधान सामुदायिक प्रहरी सेवा केन्द्रको संस्थापक अध्यक्ष, नेपाल स्वयंसेवी रक्तदाता समाज मकवानपुरका संस्थापक अध्यक्ष, लायन्स क्लव अफ थाहा पिसका संस्थापक, पालुङ जेसीजका पूर्व अध्यक्ष, सुखी भविष्य वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, ओखर बजार नि:शुल्क एम्बुलेन्स सञ्चालन अभियानका संयोजक, पालुङ बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य, प्याव्सन थाहानगरका अध्यक्ष समेत हुनुहुन्छ । प्रधान पेशाले व्यवसायी हुनुहुन्छ । 

ढकाल एमाले थाहा नगर प्रस्तावित कमिटीको अध्यक्ष हुँदै हालसम्म पनि अध्यक्ष पद सम्हाल्दै आउनु भएका नेता हुनुहुन्छ । २०४८ साल मै संगठित सदस्य लिइ सक्नु भएका नेता हुनुहुन्छ । ढकाल २०७१ मा बनेको प्रस्तावित नगर कमिटीमा अध्यक्ष बन्नु भएको थियो । त्यसपछिको अधिवेशनबाट पनि ढकाल नै अध्यक्ष रहनु हुँदै नेकपा फुट पछिको पनि अध्यक्ष कै जिम्मेवार सम्हालिरहनु भएका नेता हुनुहुन्छ । ढकाल प्रस्तावित रोटरी क्लव अफ थाहाका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.का लेखा सुपरिवेक्षण समितिका संयोजक हुनुहुन्छ । पेसाले उहाँ व्यवसायी हुनुहुन्छ । 

दुबै जनाको उम्मेदवारी पर्ने निश्चित भएपछि अध्यक्ष मण्डलले हिजै सहमतिको प्रयास थालेको थियो । दुबै जनाले अध्यक्ष मणडलमा आ-आफ्नो दाबी पेश गरेपछि टुङ्गोमा पुग्न सकेन । 

अन्य पदाधिकारीहरुमा औपचारिक घोषणा नभएपनि आवश्यक संख्या भन्दा बढेर उम्मेदवारी पर्ने प्राय: निश्चित भएको बताइएको छ । 

एमालेमा आगामी स्थानीय चुनाव समेतलाई केन्द्रीत गरेर उम्मेदवारी पर्ने देखिएको छ । त्यसैले सदस्यहरुमा पनि आवश्यक भन्दा बढी संख्यामा उम्मेदवारी पर्ने अनुमान गरिएको छ । तर अध्यक्ष मण्डल भने कुनै पनि हालतमा सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने पक्षमा देखिएका छन् । शुक्रबारको बैठकमा प्रदेश कमिटी सदस्य बरिना बल, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज विष्णु प्रसाद ढकाल, जिल्ला सदस्यहरु शशीधर सुवेदी, केदार बल, नगर सचिवालय सदस्य तथा थाहाका पुराना नेता श्यामभक्त श्रेष्ठ, चित्रबहादुर बलामी सहभागी रहनु भएको बताइएको छ । 

गत बिहीबार नेतृत्व चयनका लागि भएको छलफलमा सहभागी नेता तथा कार्यकर्ताहरुले थाहा नगरमा सजिलै उपलब्ध हुन सक्ने नेतृत्वको आवश्यकता रहेको विषयमा जोड दिएका थिए । सहभागीहरुले कमिटी निर्माण हुँदा लैङ्गिक, भौगोलिक तथा समावेशीका आधारलाई प्राथमिकता दिन जोड दिएका थिए ।

सुरेन्द्रमान प्रधान

अच्युत्तम प्रसाद ढकाल

Comments

KATHMANDU WEATHER