Byroad News

Loading...

एमाले नगर अधिवेशन भोलि कात्तिक १३ गते, थाहाको अध्यक्षमा दुई जनाको दाबी


एमाले नगर अधिवेशन भोलि कात्तिक १३ गते, थाहाको अध्यक्षमा दुई जनाको दाबी

थाहानगर/१२ कात्तिक
नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत मकवानपुरका अधिकांश पालिकाहरुको अधिवेशन भोलि कात्तिक १३ गते हुँदैछ । 

सोही अन्तर्गत थाहा नगरको अधिवेशन पनि भोलि शनिबार नै स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले जेसीज हलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कुल ३०७ जना प्रतिनिधिले सहभागिता जनाउने अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र ७० सदस्यसहित कुल ७५ सदस्यीय नगर कमिटीको निर्वाचन गरिने जनाएको छ । कात्तिक ६ गते एकै साथ सम्पन्न वडा अधिवेशनहरुबाट छानिएर आएका प्रतिनिधिहरुको नाम बिहीबार बसेको नगर कमिटीको बैठकले अनुमोदन गरिसकेको छ । 

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नगर सचिव कुमार नेगीले जानकारी दिनु भयो ।

अधिवेशनमा आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष अच्युत्तम प्रसाद ढकाल र पूर्व सचिव सुरेन्द्रमान प्रधानले अध्यक्ष पदमा उम्मेदवारी दिने निश्चित भएको चर्चा छ । मौखिक उम्मेदवारी घोषणा गर्नु भएका ढकाल र प्रधानलाई सर्वसम्मत बनाउन शुक्रबार दिनभरी जसो उच्च नेतृत्व टोलीले छलफल गरेको छ तर, दुबै जनाले उम्मेदवारीमा आ-आफ्नो दाबी पेश गरेपछि सहमती हुन नसकेको छलफलमा सहभागी एक नेताले बताउनु भयो ।

ढकाल थाहा नगर प्रस्तावित कमिटीको अध्यक्ष हुँदै हालसम्म पनि अध्यक्ष पद सम्हाल्दै आउनु भएका नेता हुनुहुन्छ । प्रधान ढकालकै कमिटीमा रहेर दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेर पार्टी फुटपछि जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हाल्नु भएका नेता हुनुहुन्छ । 

ढकाल २०४८ साल कै संगठित सदस्य हुनुहुन्छ भने प्रधान २०५३ देखि अनेरास्ववियुको राजनीतिक यात्रा सुरु गर्दै युवा संघ हुँदै पार्टी मुलधारको राजनीतिमा आउनु भएको हो ।

दुबै जनामध्ये सर्वसम्मती नेतृत्व चयनमा अध्यक्ष मण्डल व्यस्त रहेको छ । अन्य पदाधिकारीहरुमा औपचारिक घोषणा नभएका कारण शुक्रबार अरुसङ्ग सहमतीको प्रयास नगरिएको एक नेताले बताउनु भयो । तर, भोलिसम्म आवश्यक संख्या भन्दा बढेर उम्मेदवारी पर्ने प्राय: निश्चित भएको बताइएको छ । 

एमालेमा आगामी स्थानीय चुनाव समेतलाई केन्द्रीत गरेर उम्मेदवारी पर्ने देखिएको छ । त्यसैले सदस्यहरुमा पनि आवश्यक भन्दा बढी संख्यामा उम्मेदवारी पर्ने अनुमान गरिएको छ । तर अध्यक्ष मण्डल भने कुनै पनि हालतमा सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने पक्षमा देखिएका छन् । शुक्रबारको बैठकमा प्रदेश कमिटी सदस्य बरिना बल, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज विष्णु प्रसाद ढकाल, जिल्ला सदस्यहरु शशीधर सुवेदी, केदार बल, नगर सचिवालय सदस्य तथा थाहाका पुराना नेता श्यामभक्त श्रेष्ठ, चित्रबहादुर बलामी सहभागी रहनु भएको बताइएको छ । 

बिहीबार नेतृत्व चयनका लागि भएको छलफलमा सहभागी नेता तथा कार्यकर्ताहरुले थाहा नगरमा सजिलै उपलब्ध हुन सक्ने नेतृत्वको आवश्यकता रहेको विषयमा जोड दिएका थिए । सहभागीहरुले कमिटी निर्माण हुँदा लैङ्गिक, भौगोलिक तथा समावेशीका आधारलाई प्राथमिकता दिन जोड दिएका थिए ।                                          अच्युत्तम प्रसाद ढकाल

सुरेन्द्रमान प्रधान

Comments

KATHMANDU WEATHER