Byroad News

Loading...

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यद्वारा राजिनामा 


बागमती प्रदेशका मुख्यमन्त्री शाक्यद्वारा राजिनामा 

हेटौंडा/१० कात्तिक
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनु भएको छ । 

उहाँले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्नु हुँदै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बबताउनु भयो । 
शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताउनु भयो ।  मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताउनु भयो । 

सबै पक्ष मिलेमा प्रदेशलाई नमुना बनाउन सकिने भन्दै मुख्यमन्त्री शाक्यले सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्याग्नुपर्ने टिप्पणी गर्नु भयो । 

शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । 

तर उहाँको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उहाँले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गर्नु भएको थियो । 

त्यसपछि उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नु भएको थियो । 

Comments

KATHMANDU WEATHER