Byroad News

Loading...

बाढीपहिरोले मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता, अवस्था बुझ्न प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको भ्रमणमा


बाढीपहिरोले मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता, अवस्था बुझ्न प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको भ्रमणमा

काठमाडौं/४ कात्तिक
बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार अझै ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिरोका कारण मृत्यु भएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ ।

यसैबीच,  प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम जानु भएको छ । प्रधानमन्त्री देउवा बाढी पीडितको अवस्था निरीक्षण गरी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ ।

उहाँ आज नेपाली सेनाको हेलिकप्टर चढेर काठमाडौंबाट सुर्खेत हुँदै दिपायल पुग्नु हुनेछ । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्नु हुनेछ । 

Comments

KATHMANDU WEATHER