हेटौंडा/४ कात्तिक
बागमती प्रदेश सभाको आज बस्ने बैठकमा नेकपा एमाले उपस्थित नहुने भएको छ । एमालेको वडा र पालिका अधिवेशनको तयारी सांसदहरू व्यस्त हुने भएकाले आज बस्ने प्रदेशसभाको बैठकमा एमाले उपस्थित नहुने भएको हो ।
एमालेले बैठक सार्न हिजो बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा पत्रसमेत दर्ता गराइसकेको छ । तर, यतिबेलासम्म बैठक स्थगनको कुनै सूचना भएको छैन । बुधबार नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले पार्टीको वडा र पालिका अधिवेशनको सम्पन्न गर्नुपर्ने भएकाले सो कार्यका लागि समय माग गर्दै बैठक सार्न सभामुखसमक्ष लिखित रूपमा पत्र पठाएको हो ।
एमालेको १० औँ महाधिवेशन बैठक अन्तर्गत आगामी कात्तिक ६ वडा र ९ गते पालिका अधिवेशनको तयारी सांसदहरू लाग्नुपर्ने भएकाले प्रदेशसभा बैठकमा उपस्थित नहुने प्रमुख सचेतक निरौलाले बताउनु भयो ।
नेकपा एमालेका प्रत्येक सांसद पार्टीको कुनै न कुनै पदमा आबद्ध रहेका छन् । उनीहरूको भूमिका पार्टीको वडा र पालिका अधिवेशनमा महत्त्वपूर्ण भूमिका रहने भएकाले प्रदेशसभा बैठकमा उपस्थित हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने उहाँले बताउनु भयो । प्रदेशसभा बैठक आगामी कात्तिक ११ गतेसम्मको लागि सार्न एमालेले प्रस्ताव गरेको थियो ।
हालसम्म प्रदेशसभा स्थगित बारे प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले कुनै औपचारिक निर्णय गरेका छैन । प्रदेशसभा बैठकमा सहभागी हुन अन्य दलका सांसदहरु हेटौँडा आउने क्रम जारी रहेको छ । गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा पेस गरेकी थिइन् ।
आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत सम्बन्धी प्रस्ताव बारे छलफल र मत विभाजन हुने तय भएको थियो । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त हुनु भएका शाक्य नेकपा एमाले विभाजन पछि अल्पमतमा परेकी थिइन् ।
गत भदौ २५ गते एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आबद्ध सांसदको नामावलीसहितको निर्वाचन आयोगको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै मुख्यमन्त्री शाक्य औपचारिक रूपमा अल्पमतमा थिएन ।
५६ जना सांसदका साथ प्रदेश सरकारको सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यलाई एमाले विभाजनपछि भने ४३ जना सांसदको मात्र समर्थन रहेको छ । नेकपा एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा खुम्चिएको हो ।
बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरू मध्ये प्रदेश सरकार टिकाउन वा गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली काँग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।
बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ । गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, काँग्रेस र जसपाका गरी कुल ५८ जना सांसद रहेका छन् । जुन सरकार गठनका लागि स्पष्ट बहुमत हो ।
-
7 hours agoथाहाको बजेट ९१ करोड
-
1 day agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments