Byroad News

Loading...

सरकारी जग्गा कब्जा गर्न उक्साएको आरोपमा एक जना पक्राउ


सरकारी जग्गा कब्जा गर्न उक्साएको आरोपमा एक जना पक्राउ

बुटवल/३ कात्तिक
रुपन्देहीको मोतीपुरमा गोली चलाएर चार जनाको मृत्यु भएको घटनामा प्रत्यक्ष संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

मोतिपुरमा औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न स्थानीयलाई उक्साएको आरोपमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ स्थायी ठेगाना भएका ४४ वर्षीय साविर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

कात्तिक १ गते राति डेराबाट पक्राउ गरेको प्रहरीले उनलाई ‘मोतिपुर घटनाको योजनाकार’ भन्दै सार्वजनिक गरेको छ ।

मुसलमान बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा डेरा लिएर बस्दै आएका थिए । उनले सरकारी जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँट गर्ने, समिति गठन गर्ने, ब्यानर बनाउने र माइन्युटिङ तयार गर्ने जस्ता कामको नेतृत्व गर्दै आएको अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताउनु भयो ।

उनीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुसलमानको डेराबाट ब्यानर तीन थान, माइन्युटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु १३ थान र बस्ती विकासको सहयोग रसिद दुई थान फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको डीएसपी थापाले बताउनु भयो ।

औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाई कब्जा गर्ने समूह र प्रहरीबीच असोज २४ गते झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चारजना सर्वसाधारणको ज्यान गएको थियो ।

घटनामा सशस्त्रसहित ५० बढी प्रहरी र १८ जना सर्वसाधारण घाइते भएका थिए । तीमध्ये चार जना प्रहरी गम्भीर घाइते भएका थिए ।

Comments

KATHMANDU WEATHER