Byroad News

Loading...

भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा


भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा

भक्तपुर/२८ असोज
भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा मनाइएको छ ।

खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादशैंको महानवमीको साँझ मनाउने परम्परा छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेयलाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिई जात्रा मनाउन थालिएको हो । यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।

महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुप धारण गर्ने र महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेयको बलिसहित पूजा गरेर जात्रा मनाउने गरिएको संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

नवदुर्गा देवगृहमा राखिएका खःमेयलाई तान्त्रिक विधिअनुरुप पुजा गरी नवदुर्गा द्योःछे (देवगृह) बाट दौडाएर ब्रह्मायणी पीठसम्म पुर्याइन्छ । नवदुर्गा भवानीलाई चढाइने खःमेयको टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभर कुनै घाउचोट नलागेको, कम्तीमा पनि १०० धार्नी तौल भएको मोटोघाटो राँगो चाहिन्छ ।

बध गरिएको खःमेयको स–साना मासुका टुक्रा प्रसादका रुपमा घर लगेर सुकुटी बनाउने र त्यसलाई धुलो पारेर घ्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन छ । यसरी धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।

Comments

KATHMANDU WEATHER