हेटौंडा/२४ असोज
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नु भएको छ । तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ ।
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गर्नु भएको थियो । तर आइतबारको प्रदेशसभा बैठकमा उक्त प्रस्ताव पेश भएन । आइतबारको बैठकमा मुख्यमन्त्री शाक्य र दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
मुख्यमन्त्री शाक्यले राजनीतिक कुरा नै गर्नु भएन । उहाँले दशैं, तिहार र चाडपर्वको विषयमा मात्र कुरा राख्नु भयो । मुख्यमन्त्री शाक्यले समाजवादको यात्राको लागि राजनीतिक कुराहरुले मात्रै परिवर्तन नहुने भन्दै सांस्कृतिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताउनु भयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले संविधान बचाउनुपर्ने अवस्था रहेको बताउँदै अल्पमतको सरकार तत्काल हट्नुपर्ने बताउनु भयो ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मन्त्रीहरुलाई झण्डा हल्लाउँदै टीका थाप्ने रहर लागेको टिप्पणी गर्नु भयो।
नेकपा एमालेका मुख्यसचेतक दीपक निरौलाले गठबन्धनले अर्को सरकार बनाउन नसकेको आरोप लगाउनु भयो । विवेकशील साझा पार्टीका नेता रमेश पौडेलले राजनीतिक दलहरु सत्ताको चित्र फेर्न तयार भए पनि चरित्र फेर्न नसकेको बताउनु भयो । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले संसदमा सरकार ‘मंगले आफ्नै ढंगले’ भन्दै व्यंग्य गर्नु भयो ।
राप्रपाकी सांसद रिता माझीले प्रदेश सरकार र संघीयता खारेजीको माग गर्नु भएको थियो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments