Byroad News

Loading...

सरकार गठन भएको करिब तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता, गजेन्द्र हमाल आपूर्तिमन्त्री (सूचीसहित)


सरकार गठन भएको करिब तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता, गजेन्द्र हमाल आपूर्तिमन्त्री (सूचीसहित)

काठमाडौं/२२ असोज
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । सरकार गठन भएको करिब तीन महिनापछि दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको हो ।

देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिनु भएको छ । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानिनु भएको छ ।

त्यस्तै, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि कानुनमन्त्री रहनु भएका कार्कीलाई सञ्चारको जिम्मेवारी दिइएको हो । उहाँ कानुनमन्त्रीका रुपमै सरकारको प्रवक्ता हुनुहुन्थ्यो । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसक्नु भएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त हुनु भएको छ ।

त्यस्तै, नेकपा एकिकृत समाजवादीबाट रामकुमार झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले सहरी विकासमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री देउवाले सुरु देखिनै महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाउनु भएको छ । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त हुनु भएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल हुनुहुन्छ ।

Comments

KATHMANDU WEATHER