काठमाडौँ/२० असोज
नेकपा माओवादी केन्द्रले विदेश मामिला विभाग गठनको तयारी तीव्र बनाएको छ । विभाग गठनका लागि माओवादी केन्द्रमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको छ । तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि पार्टीका खैलाबैला मच्चिएको छ ।
सो विभागको प्रस्तावित अध्यक्ष तथा माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज राम कार्कीले आफूहरुले सूची तयार गरेर कार्यदलमा बुझाएको भएपनि विभाग गठन भइनसकेको बताउनु भएको छ । ‘बाहिर खबरहरु आएका छन्, तर विभाग गठन भइसकेको छैन, हामी छलफलमै छौँ’, उहाँले भन्नुभयो, ‘हामीसँग डिम्लोम्याट कति छ, हामीप्रति सहानुभूति राख्नेहरूको एउटा चार्ट, पहिले विदेश विभागमा रहेका साथीहरुको अर्को चार्ट बनाएका थियौँ’, उहाँले भन्नुभयो, ‘हामीले त्यो कार्यदलमा पेश गरेका थियौं । कार्यदलबाट एक्सपोज भएको हुनसक्छ ।’
विभागहरूलाई पूर्णता दिन माओवादीले वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल नेतृत्वको कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले विदेश विभागमा रहनसक्ने नामहरू प्राप्त गरेपछि प्रस्ताव अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई दिएको थियो । सोही प्रस्ताव कार्यदलका कुनै सदस्य वा स्थायी कमिटी सदस्यमार्फत मिडियामा बाहिरिएको हुनसक्ने माओवादीका नेताहरु बताउनु हुन्छ ।
माओवादीले तयार पारेको सूचीअनुसार यसअघि राजदूत भइसकेका लीलामणि पौडेल, डा. महेश मास्के, लक्की शेर्पा समेत समेटिनु भएको छ । पौडेल पछिल्लो समय माओवादीमा खुलेर देखा पर्नु भएको छ । उहाँले केही साताअघि गुल्मीमा माओवादीका कार्यकर्तालाई खुला रुपमा प्रशिक्षण नै दिनु भएको थियो । उहाँले माओवादी परिवर्तनको संवाहक रहेको भन्दै उसको एजेन्डालाई स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनु भएको थियो । यद्यपी उहाँले आफू माओवादीमा प्रवेश गरिनसकेको दावी गर्नु भएको थियो ।
नेता कार्कीका अनुसार आफूहरुको सूचीमा समेटिएकाहरु समितिमा बस्न सकारात्मक रहेकाले प्राय: सबैलाई समेटेर अघि बढिने बताउनु भयो । सूचीमा नारायणकाजी श्रेष्ठ नेतृत्वमा रहेको तत्कालीन विदेश विभागमा रहेका युवराज चौलागाईं, डा. ऋषि अधिकारी, रुपक सापकोटा, युगनाथ लम्साल, प्रा. अमन श्रेष्ठ, सुनील पौडेल, प्रदीप परियार, नन्द कुमार थापा, टासी लामा, मातृका पौडेल र प्रमोद जैशवाललाई पनि स्वत: समेटिएको छ ।
यसैगरी राममणि पोखरेल, पदम सुन्दास, महेन्द्र सिंह, जोखबहादुर महरा, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ, ओम शर्मा, विमल अधिकारीलगायतको नाम पनि प्रस्तावमा समेटिएको छ ।
नेता कार्कीका अनुसार छिट्टै यी नामबारे पार्टीमा छलफल गरेर विभागलाई पूर्णता दिइने भन्दै अहिले नै गठन भइसकेको भन्नुको कुनै सत्यता नरहेको स्पष्ट पार्नु भएको छ ।
नेकपा विभाजित भइसकेपछि माओवादी केन्द्रले पार्टीलाई चलायमान बनाउन धमाधम केन्द्रीय निकाय र विभागहरु गठन गरिरहेको छ । माओवादीले गत भदौमै केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको थियो ।
यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको थियो । पार्टीका सबै अंगलाई सशक्त बनाएर पार्टीलाई पहिले जस्तै बलियो अवस्थामा फर्काउने अध्यक्ष प्रचण्डले बताउँदै आउनु भएको छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments