Byroad News

Loading...

काँग्रेस पालिका अधिवेशनमा देउवा पक्ष एकल बहुमतमा 


काँग्रेस पालिका अधिवेशनमा देउवा पक्ष एकल बहुमतमा 

काठमाडौं/२० असोज
नेपाली काँग्रेसको विभिन्न क्षेत्रमा भएका पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष एकलौटी रुपमा अगाडि देखिएको छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा पक्ष एकल बहुमतमा देखिएको छ । 

मंगलबार साँझसम्म परिणाम आएका ६ सय ५ वटा पालिकामध्ये २ सय ५० वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंहलगायत पक्षका भने १ सय ८० जना मात्रै सभापतिमा निर्वाचित भएका छन् । सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन् । त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन् ।  

प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल–कोइराला पक्षले ४९ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतीमा ३३ स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् । 

त्यस्तै गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका २७ जनाले मात्रै पालिकाको सभापतिमा जित हासिल गरेका छन् ।  लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशनमा पनि देउवा पक्ष अगाडि देखिएको छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने २९ जनाले मात्रै सभापति जितेका छन् । कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् ।

कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिका मध्ये देउवा पक्षले ३६ स्थानमा जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कतिपय निर्वाचित सभापतिहरू कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन् । 

सुदूरपश्चिम प्रदेशका सम्पन्न १९ पालिका अधिवेशनमा देउवा पक्ष १४ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने ५ ठाउँमा मात्रै जितेको छ ।  सुदूरपश्चिममा अधिकांश क्षेत्रमा पालिका अधिवेशन हुन बाँकी छ ।

Comments

KATHMANDU WEATHER