Byroad News

Loading...

काठमाडौंमा आज कांग्रेसको नगर अधिवेशन हुँदै, कुन कुन पालिकामा को को भिड्दै?


काठमाडौंमा आज कांग्रेसको नगर अधिवेशन हुँदै, कुन कुन पालिकामा को को भिड्दै?

काठमाडौं/१६ असोज
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार काठमाडौंमा नगरअधिवेशन हुँदैछ । 

एक महानगर र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने भएको हो । दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्काे मितिमा नगरअधिवेशन हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

संघीय राजधानी समेत रहेको काठमाडौंका अधिकांश पालिकामा मतदानबाटै नेतृत्व चयन हुने देखिन्छ । पार्टीको केन्द्रमा प्रष्ट तीन गुट देखिए पनि काठमाडौंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहलाई चिनिन्छ । अघिल्ला महाधिवेशनमा उहाँलाई भीमसेनदास प्रधान र गगन थापाहरुको समूहले चुनौती दिने गरेको थियो । तर यो पटक काठमाडौंमा कांग्रेसको आन्तरिक समीकरण बदलिएको छ ।

प्रधान सभापति शेरबहादुर देउवा समूहसँग नजिक हुनुहुन्छ भने थापा, प्रकाशमानतिर । काठमाडौंका कतिपय नगरको सभापतिका लागि प्रकाशमान समूहकै नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

१५ वर्षपछि काठमाडौं महानगरपालिकामा कांग्रेसको अधिवेशन हुन लागेको हो । विवादका कारण काठमाडौं महानगरपालिकामा १२ औं र १३ औं अधिवशेन भएका थिएनन् । डेढ दशकपछि कांग्रेस काठमाडौं महानगर कमिटीले नयाँ नेतृत्व पाउन लागेको हो । महानगरको अधिवेशन कांग्रेसभित्र प्रतिष्ठाको विषय बनेको छ ।

देशकै सबैभन्दा ठूलो महानगरपालिकाको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं महानगरको नेतृत्वका लागि १५ वर्षपछि हुन लागेको निर्वाचनमा संस्थापन समूहबाट युवा नेता प्रगतिमान रञ्जित प्रतिस्पर्धामा हुनुहुन्छ ।

उहाँ नेपाल तरुण दल, काठमाडौंका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँलाई सिटौला समूहका नेता प्रधानको समर्थन छ । महानगर सभापतिमा अर्का प्रत्यासी कांग्रेसका पुराना नेता नीलकाजी शाक्य हुनुहुन्छ । काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष शाक्य पूर्वमहामन्त्री सिंहका उम्मेदवार हुनुहुन्छ ।

गगन थापाको निर्वाचन क्षेत्र हो, बुढानीलकण्ठ नगरपालिका । यो नगरको ५ वटा वडा प्रतिनिधिभा निर्वाचन क्षेत्र–५ मा पर्छन् । नगर सभापतिका लागि तीन आकांक्षी हुनुहुन्छ, राजाराम बुढाथोकी, राजन बुढाथोकी र राजुविक्रम थापा ।

राजाराम साविकको कपन गाउँ विकास समितिका सभापति हुनुहुन्थ्यो । उहाँ सिंह–थापा समूहका नेता हुनुहुन्छ । अर्का उम्मेदवार राजन बुढाथोकी नगर सचिव हुनुहुन्छ। उहाँ पेशाले अधिवक्ता हुनुहुन्छ । राजुविक्रम थापा नेपाल तरुण दलका नगर सभापति हुनुहुन्छ । राजन र राजविक्रम दुवै संस्थापन समूह निकट हुनुहुन्छ ।

दक्षिणकाली नगरपालिकामा भने सहमतिबाटै नेतृत्व चयन हुने सम्भावना रहेको नेताहरु बताउँछन् । नगर सभापतिमा मेयर मोहन बस्नेतको मात्रै दाबी देखिएको छ । उहाँ प्रकाशमान सिंह निकट मानिन्छ । संस्थापन समूहले श्याम कार्कीलाई उम्मेदवार बनाउन खोजेपनि उहाँले बस्नेतलाई समर्थन गर्नु भएको छ । यद्यपि वडा नम्बर २ को अधिवेशन हुन बाकी छ ।

गोकर्णेश्वरमा नगर सभापतिका लागि संस्थापन समूहबाट रामजी श्रेष्ठ उम्मेदवार बन्नु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कुमार लामा प्रतिस्पर्धामा हुनुहुन्छ । श्रेष्ठ कांग्रेसका पुराना कार्यकर्ता हुनुहुन्छ । उहाँ पेशाले इञ्जिनियर हुनुहुन्छ । अर्का उम्मेदवार लामा व्यवसायी हुनुहुन्छ । उहाँ नगर कोषाध्यक्ष हुनुहुन्छ ।

कागेश्वरी–मनोहरा नगरपालिकामा दुई समूह प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएको छ । संस्थापन समूहबाट उद्धव दाहाल नगर सभापतिका उम्मेदवार हुनुहुन्छ भने प्रकाशमानको समर्थनमा मिठाराम दाहाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

कीर्तिपुर नगरपालिकाको नगर सभापतिमा आकांक्षीको संख्या धेरै छ । सभापतिमा राजेन्द्र महर्जन, कविन्द्र कार्की, मीनप्रकाश महर्जन लगायतको दाबी छ ।

आकांक्षी अधिकांश प्रकाशमान सिंह निकट भएकाले सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको नेताहरु बताउँछन् । 

नागार्जुन नगरपालिकामा पनि अच्यूत पाण्डे र दुर्गा गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दुवै प्रकाशमान सिंह निकट हुन् । पाण्डे साविकको इचंगुनारायण गाविसको सभापति हुनुहुन्थ्यो।

शंखरापुर नगरपालिकामा संस्थापन र इतर समूहबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै समूहले प्यानल नै बनाएको छ । संस्थापन समूहबाट सत्यमान लामा र प्रकाशमानको समर्थनमा दिलीपकुमार श्रेष्ठले नगर सभापतिमा  उम्मेदवारी दिने तयारी छ । लामा स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ को अध्यक्षमा पराजित हुनु भएको थियो । उहाँ पार्टीको नगर सचिव हुनुहुन्छ । अर्का उम्मेदवार श्रेष्ठ पनि शंखरापुर नगरपालिका–७ मा अध्यक्ष पदमा पराजित उम्मेदवार हुनुहुन्छ ।

टोखा र तारकेश्वर नगरपालिका पूर्व रक्षामन्त्री एवं सिटौला समूहका नेता भीमसेन दास प्रधानको निर्वाचन क्षेत्र हो । दुवै नगरमा उहाँको समूहले पूर्व महामन्त्री प्रकाशमानको समूहसँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

तारकेश्वर नगरपालिकाको नगर सभापतिमा प्रधान समूहबाट कृष्णहरि महर्जन उम्मेदवार बन्नु भएको छ । महर्जन प्रतिनिधिसभा क्षेत्रीय समितिका कोषाध्यक्ष हुनुहुन्छ । नगर सभापतिका अर्का उम्मेदवार श्रीराम थापालाई प्रकाशमान सिंहको समर्थन छ । उउहाँ नगर सभापति हुनुहुन्छ भने स्थानीय चुनावमा मेयरका उम्मेदवार हुनुहुन्थ्यो ।

यस्तै टोखा नगरपालिकाको नगर सभापतिमा प्रधानको समूहले ओमकृष्ण विमलीलाई अघि सारेको छ । उहाँ  इकाई सभापति हुनुहुन्छ । त्यस्तै प्रकाशमानको समर्थन दीपक जोशीलाई छ । उहाँ टोखा नगरसमितिको वडा नम्बर २ का सभापति हुनुहुन्छ ।

चन्द्रागिरी नगरपालिकामा सहमतिमै नेतृत्व चयनको सम्भावना बढी रहेको नेताहरु बताउँछन् नगरपालिकाका प्रमुख घनश्याम गिरी आफैं नगर सभापतिका लागि आकांक्षी हुनुहुन्छ । शुक्रबारसम्म गिरीबाहेक अरुले दाबी गर्नु भएको छैन ।

Comments

KATHMANDU WEATHER