Byroad News

Loading...

साहित्य संगम मकवानपुरमा अनिता न्यौपाने


साहित्य संगम मकवानपुरमा अनिता न्यौपाने

हेटौंडा/९ असोज
मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । २०४४ सालमा स्थापना भएको संगममा १५ औ अधिवेशनले अध्यक्षमा साहित्यकार अनिता न्यौपानेलाई चयन गरेको छ । संगमको नेतृत्व तहमा पुग्ने न्यौपाने नै पहिलो महिला साहित्यकार हुनु भएको छ ।

संगमको शनिबार भएको अधिवेशनले अध्यक्षमा न्यौपानेलाई सर्वसहमत रुपमा निर्वाचित गरेको हो । हेटौंडा–४ भैरवरोडमा आफ्नै प्रेक्षालय रहेको संगमको नेतृत्वमा आएपछि न्यौपानेले सबै साहित्यकारलाई समेट्दै मकवानपुरे साहित्यको श्रीवृद्धिमा लाग्ने बताउनु भयो । उहाँले सबै तह र तप्काका साहित्यकारलाई संगम आफ्नै हो भन्ने अनुभूती हुनेगरी काम गर्ने उल्लेख गर्नुभयो । 

यसअघि सदस्य, कोषाध्यक्ष तथा उपाध्यक्षमा दुई कार्यकाल काम गरिसकेको अनुभवलाई उपयोग गर्दै समितिका सदस्य तथा मकवानपुरे सबै साहित्यकारसँग छलफल र सहमतिमा योजनावद्ध रुपमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ । उहाँले संगममा रहेर मकवानपुरे साहित्यको विकाससँगै भौतिक विकासलाई पनि जोड दिने बताउनु भयो । उहाँले गुटउपगुुटबाट टाढा रहेर नितान्त साहित्यको सेवामा सर्मर्पित हुने प्रतिक्रिया दिनु भएको छ । 

यसैगरी अधिवेशनले उपाध्यक्षमा सानु खनाल, सचिवमा डिबी बर्तौला, सहसचिवमा यमनदेव उत्प्रेरक, कोषाध्यक्षमा मनोज पोखरेल निर्वाचित हुनु भएको छ । संगमको कार्यसमिति सदस्यमा मेनुका तिमल्सिना, कुवेर पराजुली, गंगा सापकोटा र सुनिल गौतमलाई निर्वाचित गरेको छ । 

समितिको अन्य पदमा सर्वसहमत भएपनि सचिवमा भने निर्वाचन भएको थियो । सचिवमा डिबी बर्तौला र रमेश बञ्जारको उम्मेदवारी परेपछि मतदान प्रक्रियाबाट बर्तौला विजयी हुनु भएको हो । मतदानमा प्रक्रियामा बर्तौलाले ७३ र बञ्जारारले ९ मत प्राप्त गर्नु भयो । 

संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षमा अधिवेशन भएको अधिवेशनको प्रमुख अतिथि साहित्यकार तुल्सी थापा रहनु भएको थियो । अधिवेशनको बन्दसत्रले कोषाध्यक्ष सानु खनाल र सचिव डिबी बर्तौलाको प्रतिवेदन पास गरेको छ । यस्तै अधिवेशनले संगमको विधानको विभिन्न बुँदालाई परिमार्जन तथा थप गरेको छ । कार्यक्रममा मकवानपुरका विभिन्न साहित्यक संस्थाका प्रमुख तथा साहित्यकारको उपस्थिति रहेको थियो ।

Comments

KATHMANDU WEATHER