Byroad News

Loading...

नगर विकास समितिको जग्गा अनियमिततामा कर्मचारीसहित सयभन्दा बढीको बयान


नगर विकास समितिको जग्गा अनियमिततामा कर्मचारीसहित सयभन्दा बढीको बयान

महेन्द्रनगर/३ असोज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा कर्मचारीसहित १ सय भन्दा बढीले बयान दिएका छन् ।

महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री वितरण र भाडामा दिएका थिए ।

६ सय ३८ बिघा जमिन रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ । जग्गा अनियमितताको विषय छानबिनका लागि भने अख्तियारको टोली भदौ तेस्रो साता कञ्चनपुर पुगेको थियो । पदाधिकारीको अवैध कामको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन यसअघि नै पहल भए पनि पार भने लाग्न सकेको थिएन ।

अख्तियार स्रोतका अनुसार हालसम्म समितिका कर्मचारीसहित जग्गा लिने १ सय भन्दा बढीको बयान भइसकेको छ । 

अख्तियारले जग्गाको क्षेत्रफलसहित जग्गा लिने १४४ जनाको विवरणसहित कागजात नियन्त्रणमा लिएको छ । उक्त कागजात हेर्दा नगर विकासका अध्यक्षद्वय गोपाल रसायली र पल्टु रानाले जग्गा धेरै वितरण गरेको पाइएको छ ।

त्यसै गरी अख्तियारको टोलीले नगर विकाससँग सम्बन्धित कागजात मालपोत र नापी कार्यालयबाट झिकाइसकेको छ । ‘त्यो बेला जग्गा बिक्री वितरण गर्दा हस्ताक्षर गर्ने मालपोत र नापीका कर्मचारीलाई पनि बयानमा झिकाइने बताइएको छ । यसरी जग्गा भाडा र किनबेचमा त्यहाँका विभिन्न राजनीतिक दलका नेता, व्यवसायी, प्राध्यापक, विद्यार्थी नेता र सञ्चारकर्मी छन् ।

उक्त मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन अवस्थामा छ । जग्गा भाडामा लिनेले उपभोग गर्न नपाएको भन्दै मुद्दा दायर गरेका थिए । बजारको गुरुयोजना नै मिच्ने गरी आफूखुसी जग्गा लिज र बिक्री वितरण हुन थालेको गुनासोपछि केही वर्षयता सहरी विकास मन्त्रालयले नगर विकासको प्रशासनिक कामबाहेक अन्य काम रोकेको थियो ।

Comments

KATHMANDU WEATHER