हेटौंडा/३० भदौ
हेटौंडाका सुस्मिता क्षेत्री थापाको हत्या गरेको अभियोगमा एक जना अभियुक्तलाई पुर्पपक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।
कपिलबस्तुको बाणगंगा नगरपालिका ८, बोडगाउँ माईत भएकी २४ वर्षीया सुस्मिता क्षेत्री थापाको हत्या आरोपमा फरार रहेका हेटौंडाका अरुण कार्की सोमबार अदालतमा उपस्थित भएका थिए ।
मकवानपुर जिल्ला अदालतमा मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायधिश सीता शर्मा अधिकारीको इजालसले उनलाई थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार एवं सुचना अधिकारी तीर्थराज भट्टराईले बताउनु भयो । झण्डै १४ महिना फरार भएर अदालतमा उपस्थित भएका कार्की मृतक सुस्मिताको भिनाजु अर्थात् आमाजु दुर्गा थापा कार्कीको श्रीमान् हुन् । अदालतको आदेशपछि कार्कीलाई भीमफेदी कारागार पठाइएको छ ।
मञ्जुश्री असहाय केन्द्र र मेची महाकाली बुहारी संयुक्त आवाजका मकवानपुर, चितवन, कपिलवस्तु लगायतबाट प्रतिनिधिहरुले सुस्मितालाई न्याय दिनुपर्ने भन्दै अदालतको गेटमा दबाब दिएका थिए । सुस्मिताको समर्थक र अरुण कार्कीका समर्थकहरुबिच केही समय भनाभनसँगै धकेला धकेल भएको थियो । जिल्ला प्रहरी, वडा प्रहरी कार्यालयबाट आएका प्रहरीहरुले भिडन्त हुनबाट जोगाएको थियो । सुस्मिताको आमा गंगा केशी, बुबा कृष्णबहादुर केशी, ठुलोबुवा, ठुलीआमा लगायत कपिलवस्तुबाट हेटौंडा आएका थिए ।
जिल्ला न्यायाधीश अधिकारीकै इजालशले गतबर्ष असार ३१ गते अभियुक्तहरु सुस्मिताको ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासु तुलसा थापा, २७ वर्षीया आमाजु दुर्गा र २३ वर्षीया नन्द सीता थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । साथै आरोपी कार्की फरार रहेकाले पक्राउ पुर्जी जारी गरिएको थियो ।
अदालतको आदेशपछि ससुरा प्रकाशलाई भीमफेदी कारागार तथा सासु तुलसा, आमाजु दुर्गा र कान्छी नन्द सीतालाई चितवनस्थित कारागारमा राखिएको छ । गत बर्षको असार १ गते राती सुस्मिताको हत्या गरेको आरोपमा प्रहरीले असार १५ गते चार जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
सुस्मितामाथि आर्थिक, मानसिक र यौनजन्य हिंसा पछि सुनियोजित रुपमा परिवारबाटै हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको थियो । सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते शंकास्पद मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
२०७६ बैशाख १८ गते मागी विवाह भएको सुस्मिताका श्रीमान् रुपेन्द्रको विवाह भएको ६ महिना नपुग्दै असोज २३ गते ससुराली कपिलवस्तुबाट फर्कने क्रममा नवलपरासीको दाउन्नेमा मोटरसाईकल दुर्घटनामा निधन भएको थियो । श्रीमानको मृत्यु पश्चात् दिनहुँजसो सुस्मितालाई परिवारका सदस्यहरुबाटै यातना दिने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
सुसराले बुहारी सुस्मितालाई बाथरुममा जबर्जस्ती करणी उद्योग (बलात्कार प्रयास) समेत गरेको प्रहरी समक्ष स्वीकारेका थिए । करणी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठामा आँच आउने र छोराको निधन पश्चात् प्राप्त हुने रकमको विषयलाई लिएर सुस्मिताको ज्यान लिएको देखिएको प्रहरीले जनाएको छ ।
रुपेन्द्रको सवारी दुर्घटना बिमाको पाँच लाख रुपियाँ सुस्मिताले पाएकोमा घर पक्षले आफुहरुले पाउनुपर्ने भन्दै विवाद सृजना गरेका थिए । त्यस्तै, रुपेन्द्र कार्यरत क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रालि हेटौंडाबाट मृत्यु पश्चात पाउने बिमा, बोनस, तलब, भत्तागरी ३८ लाख २८ हजार आमा, बाबु, बुहारीबिच विवादका कारण भुक्तानी नभएको पाईएको प्रहरीको अनुसन्धानले खोलेको थियो ।
मृतक रुपेन्द्रको मृत्यु पश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार रुपियाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलहको अवस्था सिर्जना भएको प्रहरीले जनाएको थियो । रुपेन्द्रको बिमाको रकम दश लाख ६३ हजार रुपियाँ भने ससुराले झिकिसकेको र सामाजिक सुरक्षा कोषबाट एक लाख ७७ हजार रुपियाँ भने सुस्मिताको खातामा जम्मा भएको प्रहरीले जनाएको छ । उक्त सबै रकम ससुरालाई झिकेर दिन घरपरिवारले बारम्बार दबाब दिने गरेको अनुसन्धानले पत्ता लगाएको बताईएको छ ।
तस्वीर: मृतक सुस्मिता
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments