थाहानगर/२४ भदौ
आज हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।
आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।
अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।
अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित नारीहरुले असल वर प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
थाहानगरमा तीजको अवसरमा पाण्डुकेश्वर मन्दिर, बज्रबाराहीस्थित उन्मत्तेश्वर, नन्दीकेश्वर, गोखुरेश्वर, विसिङ्खेलमा चम्पाकेश्वर, देउखेलमा कुटेश्वरमा पूजाआजा हुने गरिन्छ । नेपालका ६४ ज्योतिर्लिङ्गमध्ये यी थाहानगरका ६ वटा हुन् । मकवानपुरमा ७ वटा रहेकामध्ये भीमफेदी गाउपालिकाको इपामा रहेछ । तीजको अवसरमा कोरोनाको त्रासका कारण कुनै साँस्कृतिक कार्यक्रम नरहेको पाण्डुकेश्वर क्षेत्र विकास समितिका कोषाध्यक्ष रामप्रसाद ढकालले जानकारी दिनुभयो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments