थाहानगर/२२ भदौ
बजारमा मानिसको चहलपहल हेर्दा मकवानपुरमा निषेधाज्ञा पूर्ण रुपमा हटिसकेको जस्तो देखिए पनि कानुनी रुपमा भने अझै कायम छ ।
मकवानपुर प्रशासनले भाद्र ३१ गते बिहीबार राती १२ बजेसम्मका लागि अझै खुकिलो बनाएर निषेधाज्ञालाई कायमै राखेको छ ।
थप गरिएको निषेधाज्ञामा अत्यावश्यक काम परी घरबाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड़ नगर्ने, नगराउने, औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने, अन्य खाद्यान्न तथा गैर खाद्यान्न पसलहरू, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरू विहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न सकिने उल्लेख छ । तर, स्ट्रिट फुड र फुटपाथमा पसल राख्न नपाउने भनिएको छ ।
होटल तथा लज सञ्चालन सम्बन्धमा कूल बेड क्षमताको ५० प्रतिशतमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई सञ्चालन गर्ने, सभा, गोष्ठी, तालिम, सेमिनार र विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरू भिडभाड नहुने सुनिश्चित गरी बढीमा २५ जनासम्म सहभागी भई जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी गर्न सकिने व्यवस्था निषेधाज्ञामा उल्लेख छ । मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने उल्लेख छ ।
चाडपर्वहरू जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरूपमा मात्र मनाउने, धार्मिक प्रतिष्ठानहरूमा धार्मिक, सास्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल, पिकनिक स्थल, स्विमिङ पुल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति पूर्णरूपमा बन्द रहने उल्लेख छ ।
विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने सम्बन्धमा अभिभावकहरूको सहमतिमा विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्ने गरी सम्बन्धित स्थानीय तहले स्वीकृत गरी सञ्चालन गर्ने उल्लेख छ ।
निषेधाज्ञामा ट्युसन तथा कोचिङ सेन्टर, तालिम तथा प्रशिक्षण केन्द्रहरू जनस्वास्थ्यमा मापदण्डहरू पूर्ण पालना गर्ने गरी सम्बन्धित स्थानीय तहको स्वीकृतिमा सञ्चालन गर्ने, विद्यालय, कलेज, संघ तथा प्रदेश लोक सेवा आयोगबाट पूर्व निर्धारित परीक्षाहरू तोकिएका मापदण्डहरू पालना गरी सञ्चालन गर्ने, सार्वजनिक यातायातहरू सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रुहरू नराख्ने, सबै यात्रुहरूलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने र सवारी साधनलाई दैनिकरूपमा निसङ्क्रमित गरी सञ्चालन गर्ने उल्लेख छ ।
सरकारी तथा गैरसरकारी, बैंक तथा वित्तिय संस्था र सहकारीहरूले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी सेवा सञ्चालन गर्ने, पसल तथा व्यवसाय, उद्योग तथा कलकारखाना सञ्चालन गर्दा, विकास निर्माणका कार्य गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित सञ्चालक/पक्षले गर्नुपर्ने उल्लेख छ ।
उल्लेखित जनस्वास्थ्यका मापदण्डहरू पालना नभएको पाइएमा अनुगमन समितिको सिफारिसमा उक्त पसल तथा व्यवसाय, उद्योग तथा कलकारखाना र विकास निर्माणको कार्य निषेधाज्ञा अवधिभरको लागि बन्द गरिनेछ चेतावनी दिइएको छ । सामाजिक संघ/संस्थाहरु, निजी क्षेत्र, सहकारी क्षेत्र र नागरिक समाजको समन्वयमा माक्स अभियान नियमित रुपमा सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जारी गर्नु भएको सूचनामा उल्लेख छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments