संखुवासभा/२१ भदौ
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । ‘तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला पर्नु भएको छ,’ डिएसपी सुवेदीले भन्नुभयो ।
नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताउनु भयो । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखेछन् । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ रे,’ नगरप्रमुख लिंथेपले भन्नुभयो, ‘म पनि घटनास्थलमा जाँदैछु ।’
डिएसपी सुवेदीले गएराति हत्या भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको बताउनु भयो। ‘राति नै हत्या भएको हुनसक्छ । बिहान भएको भए होहल्ला हुन्थ्यो, गाउँलेले थाहा पाउँथे होला,’ उहाँले भन्नुभयो, ‘हामी घटनाको अनुसन्धान गर्दैछौं ।’ अहिलेसम्म कोही पनि पक्राउ नपरेको उहाँले बताउनु भयो।
घटनास्थल चैनपुरबाट चार घण्टाको दुरीमा पर्दछ । इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर युवराज खतिवडाको टोली घटनास्थल प्रस्थान गरेको छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments