Byroad News

Loading...

देउवासँगको सहमतिपछि छलफलमा जुट्यो पौडेल समूह


देउवासँगको सहमतिपछि छलफलमा जुट्यो पौडेल समूह

काठमाडौं/१२ भदौ
महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो ।

सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा शनिबार बिहान सुरु भएको छलफलमा पौडेल समूहका शीर्ष नेताहरुसँगै केहि जिल्ला सभापतिहरु पनि सहभागी हुनुहुन्छ ।

बैठकमा नेता पौडेल, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, डा. शेखर कोइरालालगायत छन् भने नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, बर्दिया सभापति सञ्जय गौतम सहभागी हुनुहुन्छ ।

शुक्रबार बिहान बसेको पौडेल पक्षका नेताहरुको बैठकले क्रियाशील सदस्यता, जिल्ला सभापतिहरुको अनशन र अधिववेशनका बारेमा सभापति देउवासँग भेटेर छलफल गर्ने निर्णय गरेको थियो । पौडेल समूहका नेताहरु शुक्रबार साँझ बालुवाटार पुग्नु भएको थियो ।

पौडेल समूहले देशभरका सबै वडामा तोकिएकै मितिमा वडा अधिवेशन हुनुपर्ने माग गरेको थियो । त्यस्तै क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने र जिल्ला सभापतिको उम्मेदवारको हकमा दोहोरो मापदण्ड हटाउनुपर्ने जिल्ला सभापतिहरुको मागका बारेमा सभापति देउवासँग छलफल गरेको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबारसम्म ४८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिसकेको छ ।

Comments

KATHMANDU WEATHER