काठमाडौं/१२ भदौ
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताउनु भयो । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उहाँले बताउनु भयो ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुषाल र प्रमेश हमाल रहेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
बुधबार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दर्ता गर्दै नयाँ दलको मान्यता दिएको थियो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय नभएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको बताउँदै आउनु भएको छ ।
पाँच दलीय गठबन्धनभित्र कांग्रेसले ७, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)ले ६/६ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ दिल्लीमा उपचार गराइरहेका नेता खनाल स्वदेश फिर्ता भएपछि उहाँको समेत सहमतिमा मन्त्रीको नामावली टुंगो लगाउने स्रोतको दाबी छ ।
एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको दाबी स्रोतको छ ।
नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रिय सभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउनेछन् ।
यसरी एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख एक गरी १३ सांसदलाई नयाँ जिम्मेवारीमा पठाउने भएको छ । त्यसमध्ये संसदीय दलको नेतामा नेपाल स्वयं नै जाने भएका कारण बाँकी चारको छनौट गरिने भएको छ । यसबाहेक विभिन्न संसदीय समितिका सभापति हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा तीनवटा संसदीय समितिको सभापति पाउने सम्भावना छ ।
पटकपटक जनताबाट निर्वाचित भएर पनि गुटका आधारमा मूल्यांकन नहुने परिपाटीले हालसम्म मन्त्री हुन नपाएका सांसददेखि नयाँ पुस्तासम्मका अनुहार सरकारमा देखिने भएको एकीकृत समाजवादी स्रोतले जनाएको छ ।
त्यससँगै राष्ट्रिय सभामा दलको नेतामा वामदेव गौतम वा बेदुराम भुषाल, संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम आएको छ । दुवै सदनमा गरी प्रमुख सचेतक र सचेतक (चार जना)को छनौट गरिने भएको छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिइएको स्रोतले जनाएको छ ।
हालसम्म मन्त्रीका रूपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा छन् । यीमध्ये एक जनालाई उपसभामुखको जिम्मेवारी दिइने भएको छ ।
तर, उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लागेको छैन । यदि वामदेव गौतमले भौतिक पूर्वाधार मन्त्रालयसहित उपप्रधानमन्त्री स्वीकारे उहाँलाई पठाइने, अन्यथा गौतमलाई राष्ट्रिय सभा दलको नेता बनाएर मुकुन्द न्यौपाने वा बेदुराम भुषालको नेतृत्वमा सरकारमा पठाउने तयारी एकीकृत समाजवादीको रहेको आजको राजधानी दैनिकले समाचार छापेको छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments