Byroad News

Loading...

कांग्रेस महाधिवेशनमा कुन पदमा उम्मेदवार शुल्क कति?


कांग्रेस महाधिवेशनमा कुन पदमा उम्मेदवार शुल्क कति?

काठमाडौं/११ भदौ
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरू भइसकेको छ।

यही भदौ १८ गते वडा अधिवेशन गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरेको थियो। वडा अधिवेशन आउन एक साता मात्रै बाँकी छ।

केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।

महाधिवेशन नजिकिएसँगै निर्वाचन निर्देशिकामार्फत् तह अनुसारका पदमा उठ्ने उम्मेदवारले तिर्नुपर्छ शुल्क यकिन भइसकेको छ।

केन्द्रीय सभापतिको निर्वाचनका लागि उम्मेदवार हुनेले ३० हजार रपियाँ शुल्क तिर्नुपर्छ।

उपसभापति र महामन्त्रीका लागि २५ हजार रपियाँ लाग्नेछ। सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्य पदको निर्वाचनका लागि भाग लिने हो भने १० हजार रुपियाँ शुल्क बुझाउनुपर्ने हुन्छ।

प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रुपियाँ शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ।

प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तिर्नुपर्छ।

जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार शुल्क लाग्नेछ।

गाउँपालिका र नगरपालिका भित्रका वडा कार्यसमितिमा उम्मेदवारका लागि पनि शुल्क तोकिएको छ।

वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रुपियाँ शुल्क तोकिएको हो।

गाउँपालिका कार्यसमितिका लागि सभापति निर्वाचनमा भाग लिनेले दुई हजार, उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्यको निर्वाचनका लागि पाँच सय शुल्क लाग्नेछ।

नगर सभापतिका लागि हुने निर्वाचनमा उम्मेदवार हुँदा चार हजार, उपसभापति र सचिवका तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यलाई एक हजार शुल्क लाग्छ।

महानगरपालिका र उपमहानगर भित्रका सभापति पदको निर्वाचनका लागि पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार र सदस्यलाई दुई हजार शुल्क तोकिएको छ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क लाग्नेछ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिलाई सात हजार, उपसभापति र सचिवलाई पाँच हजार, सहसचिवलाई चार हजार र सदस्यलाई दुई हजार शुल्क लाग्छ।

साथै कांग्रेसले कोषाध्यक्षबाहेक अरू पदमा निर्वाचनमार्फत् नै चुन्ने व्यवस्था गरेको छ। निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी कोषाध्यक्ष चयन गरिने व्यवस्था छ।

Comments

KATHMANDU WEATHER