Byroad News

Loading...

बालकोट वार्ता १० बुँदे कार्यान्वयन गर्न सैद्धान्तिक सहमति


बालकोट वार्ता १० बुँदे कार्यान्वयन गर्न सैद्धान्तिक सहमति

काठमाडौं/७ भदौ
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन सहमत हुनु भएको छ । 

सोमबार आफ्नो निवास बालकोटमा पछिल्लो समय तटस्थ बसेका ९ जना स्थायी समिति सदस्यसँगको छलफलमा अध्यक्ष ओलीले पार्टीका सबै तहका संरचना (वडा, जिल्ला, प्रदेश, केन्द्र कमिटी) खारेज गर्ने सहमति जनाउनु भएको हो ।

ओली सहमत हुनु भएसँगै विगतमा माधव नेपाल समूहमा रहेर हाल तटस्थ रहनु भएका नेताहरु स्थायी कमिटी बैठकमा सहभागी हुनु हुने जनाइएको छ । आज भएको सहमतिलाई अनुमोदन गर्न अध्यक्ष ओलीले मंगलबार स्थायी समिति बैठक बोलाउनु भएको छ । 

बालकोट बैठकमा उपाध्यक्षद्वय भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसहितका नेताहरु सहभागी हुनुहुन्थ्यो । संस्थापन पक्षबाट अध्यक्ष ओली, प्रवक्ता प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।

छलफलमा अध्यक्ष ओली पुस ५ गतेपछि आफूले बनाएका सबै पार्टी संरचना खारेज गर्न सहमत हुनु भएको हो । यदि माधव नेपाल नयाँ दल दर्ता गर्नबाट फर्किनु भएर उहाँले पुस ५ गतेपछि गठन गर्नु भएका सबै संरचना खारेज गर्न सहमत हुनु भए १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन आफू तयार भएको ओलीले मध्यमार्गी नेताहरूलाई वचन दिनु भएको छ ।

नेता नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिनु भएको छ । आयोगले बुधबार केन्द्रीय सदस्यहरूलाई सनाखत गर्न बोलाएको छ ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशअनुसार नेता नेपाललाई ४१ केन्द्रीय सदस्य र २४ सांसद भए नयाँ पार्टी दर्ता गर्न पुग्नेछ । त्यसैले पनि माधव नेपाललाई छाड्नु भएका मध्यमार्गी नेताहरूले आज ओलीलाई भेटी कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि दबाब बढाउनु भएको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज भएका अनौपचारिक सहमतिलाई भोलि बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने जानकारी दिनु भयो ।

Comments

KATHMANDU WEATHER