थाहानगर/३१ साउन
मकवानपुरमा आगामी भदौ १० गतेसम्म निषेधाज्ञा थपिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज आइतबार बसेको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिले कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै जारी निषेधाज्ञालाई आगामी भदौ १० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
उक्त निर्णय साउन ३२ गते सोमबार राति १२ बजेदेखि लागू हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा निषेधाज्ञा लम्बिए पनि बजार खुल्ला गर्ने समय भने बढाइएको छ ।
उक्त बैठकले अत्यावश्यक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसल व्यवसाय विहान ५ बजेदेखि विहान १० बजेसम्म र अन्य व्यवसायहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार अत्यावश्यक खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी बिक्रीवितरण गर्ने व्यवसायहरु बिहान ५ बजेदेखि विहान १० बजेसम्म खोल्न अनुमति दिइएको छ ।
त्यस्तै बैठकमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचर फर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने गरी दिने निर्णय गरिएको प्रजिअ पाण्डेले बताउनु भयो ।
सार्वजनिक सवारी साधनको हकमा भने जोर–बिजोर प्रणालीमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न पाइने छ ।
निजी सवारी साधनको हकमा भने जोर बिजोर प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर संचालन गर्न पाइने गरी बैठकले निर्णय गरेको छ ।
सो बैठकले बैंक तथा वित्तीय संस्थाहरुको हकमा यसअघि लगाइएको आलोपालो प्रणाली हटाएर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नियमित रुपमा संचालन गर्न दिने निर्णय गरेको छ ।
पछिल्लो समय कोरोना संक्रमण बढेसँगै मकवानपुरको नापी र मालपोत कार्यालयले आइतबारबाट एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेका छन् भने प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता र राहदानी बनाउने र नवीकरणको कार्य आलोपालो प्रणालीमा गर्ने भएका छन् ।
-
22 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments