Byroad News

Loading...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, को हुन् केसी ?


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, को हुन् केसी ?

वुटवल/२८ साउन
लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । 

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिनु भएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नु भएको थियो । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नु भएको छ । 

नेकपा (एमाले) र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उहाँ केन्द्रीय सदस्य र संसदीय दलको उपनेता हुनुहुन्थ्यो । 

नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थाल्नु भएका रोल्पा, लिवाङका केसी २०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लाग्नु भएको थियो । २०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित हुनु भएका उहाँ शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री हुनुहुन्थ्यो । 

नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर २०४८ देखि २०५० सम्म शिक्षण पेशामा आवद्ध उहाँ २०५० देखि ०५२ सम्म नेकपा (एकता केन्द्र)को रोल्पा इलाका सेक्रेटरी हुनुहुन्थ्यो । २०५५ सालमा माओवादीमा लाग्नु भएका उहाँ एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहुनु भयो । 

२०५६ मा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा हुनु भएका उहाँ २०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । २०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहनु भएका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार हुनु भयो र २०६३ मा रिहा हुनु भयो । 

२०६३ देखि ०६८ सालसम्मको अवधिमा उहाँ जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहनु भयो । त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बन्नुभयो ।

Comments

KATHMANDU WEATHER