वुटवल/२८ साउन
लुम्बिनी प्रदेशमा आज (बिहीबार) नयाँ सरकार गठन हुँदैछ। शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो ३ बजेसम्मको समय दिनु भएको छ ।
लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन नयाँ सरकारका लागि दाबी पेश गर्न जाने कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो ।
गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता केसीलाई मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी गर्ने खानले बताउनु भयो ।
सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ। एमाले सांसद तथा पूर्वमन्त्री बैजनाथ चौधरीले आफूहरु प्रतिपक्षमा रहने बताउनु भयो ।
प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी छ। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।
प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ। चार दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन्। गठबन्धनका ठूला दल कांग्रेस र माओवादीबीच आठ/आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
गठबन्धनलाई मजबुत बनाउन र समान सहभागिताका लागि आधा/आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको कांग्रेस दलका नेता विरेन्द्र कानोडियाले बताउनु भयो ।
सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसी मुख्यमन्त्री बन्नुहुनेछ भने त्यसपछिको कार्यकालको नेतृत्व कांग्रेस दलका नेता विरेन्द्र कानोडियाले गर्नुहुनेछ ।
चार दलीय गठबन्धनले नयाँ सरकार गठनसँगै नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ योजना लिएर अघि बढ्ने माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले बताउनु भयो ।
-
20 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments