Byroad News

Loading...

नक्कली परीक्षार्थीमार्फत प्रहरीको लिखित परीक्षा दिएको आरोपमा ५ जना पक्राउ


नक्कली परीक्षार्थीमार्फत प्रहरीको लिखित परीक्षा दिएको आरोपमा ५ जना पक्राउ

धनगढी/१९ साउन
सुदूरपश्चिम प्रदेशमा नक्कली परीक्षार्थीमार्फत प्रहरी जवानको लिखित परीक्षा पास गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ताका क्रममा लिखित परीक्षा नक्कली परीक्षार्थीमार्फत दिएको खुलेपछि विभिन्न जिल्लाका पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बझाङको तलकोट गाउँपालिका–३ का सुदीपकुमार रोकाया, दुर्गाथली गाउँपालिका–५ का दीपेन्द्र जप्रेल, कैलालीको धनगढी उपमहानगरपालिका–१६ का सुन्दर चौधरी, कैलारी गाउँपालिका–७ का रामनरेश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का नरेन्द्र धामी पक्राउ परेको प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

उनीहरु पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेर अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताउनु भयो । ‘लिखित परीक्षामा पास भएका उनीहरुको अन्तर्वार्ता लिने क्रममा प्रस्तुति शंकास्पद देखियो,’ एसएसपी सिंहले भन्नुभयो, ‘मौखिक परीक्षामा एउटा प्रश्नको समेत जवाफ दिन नसकेपछि हामीले सोधपुछ गर्दा उनीहरुले रकम दिएर अरु नै व्यक्तिबाट परीक्षा दिन लगाएको पाइएपछि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय डोटीलाई भनेका थियौं । अहिले उनीहरुमाथि अनुसन्धान जारी छ ।’

उनीहरु साउन १० देखि १६ गतेसम्म फरक–फरक मितिमा पक्राउ परेका हुन् । उनीहरुको परीक्षा दिने व्यक्तिलाई समेत पक्राउ गरेर कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालयले किर्तेमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ भने लोकसेवा आयोगले समेत उनीहरुलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

Comments

KATHMANDU WEATHER