Byroad News

Loading...

फेरि प्रधानमन्त्री बन्छु कि भन्ठानेर कसैले जालझेल नगरोस् : नेपाल


फेरि प्रधानमन्त्री बन्छु कि भन्ठानेर कसैले जालझेल नगरोस् : नेपाल

काठमाडौं/१६ साउन
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराउनु भएको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराउनु भएको हो ।

अखिल फोर्सले गरेको शनिबारको भेलामा नेपालले भन्नुभयो, 'फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरोस् । जे गर्नुछ पारदर्शी रूपमा गरोस् ।'

ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको नेपालको भनाइ थियो । उहाँले प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताउनु भयो । अहिलेको सरकारले जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव उहाँले दिनुभयो ।

आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताउनु भयो । 'तर्सेर भाग्ने, मैदान छोडेर भाग्ने कुरा आउँदैन । हामी विचारमा अडिग योद्धा हौं,' उहाँले भन्नुभयो, 'हामी अरूको कुरा, आलोचना पनि सुन्छौं । सही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं ।'

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालले बताउनु भयो । 'म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो । सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्ने हो,' उहाँले भन्नुभयो ।

नेता नेपालले आफूलाई विचारहीन र सिद्धान्तहिन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको पनि बताउनु भयो । गलत कुराका विरुद्ध सतिशालझैशं उभिने आँट गर्न नेता नेपालले अखिलका नेताहरूलाई सुझाव दिनुभयो ।

Comments

KATHMANDU WEATHER