Byroad News

Loading...

कांग्रेसले बनायो ८ लाख ५२ हजार क्रियाशील सदस्य, कुन प्रदेशमा कति?


कांग्रेसले बनायो ८ लाख ५२ हजार क्रियाशील सदस्य, कुन प्रदेशमा कति?

काठमाडौं/१२ साउन
नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ।

विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन्। यो टुंगिएपछि क्रियाशीलको संख्या झन्डै एक लाख थपिनेछ।

१४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको हो। जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर छ। त्यसबेला चार लाख ८० हजार मात्रै क्रियाशील सदस्य थिए।

क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन्। उनीहरूबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति बनाउँछन्।

८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्य हुन्। उनीहरूको नवीकरण गरिएको हो।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको उल्लेख छ।

कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिबाट प्राप्त क्रियाशीलको विवरण प्रतिवेदनमा समावेश गरेको छैन।

प्रतिवेदनअनुसार कांग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील छन् भने महिला एक लाख ९९ हजार ९७ जना छन्। अन्यतर्फ भने १७६ जना छन्।

कुन उमेरका कति सदस्य?

उमेरअनुसार हेर्दा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार चार सय २७ जना क्रियाशील छन्। २६ देखि ४० वर्षसम्मका २ लाख ४९ हजार ७ सय ७४ जना छन्। कांग्रेसमा यसपटक युवाको आकर्षण देखिएको छ।

४१ देखि ६० वर्ष उमेर समूहका धेरै क्रियाशील छन्। तीन लाख २८ हजार दुई सय ३४ जना क्रियाशील यो समूहबाट छन्।

यस्तै ६१ देखि ७५ वर्ष उमेरका ८३ हजार १० जना छन् भने ७५ वर्षभन्दा माथिका ११ हजार ७ सय ८२ जना मात्रै छन्।

समावेशीतर्फ को कति?

अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन्।

मधेशीतर्फ ९५ हजार १ सय ४१, मुश्लिम १६ हजार ९ सय ७०, थारूतर्फ २७ हजार ६ सय १५, अपांगता भएकातर्फ दुई सय १, पीछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११, दलित ४५ हजार चार सय १७ जना छन्।

प्रदेशअनुसार कहाँ कति?

प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन्।
प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।

यी क्षेत्रमा अझै विवाद:

क्रियाशील सदस्यताबारे विवाद भएका धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको नयाँ क्रियाशीलबारे छानबिन समितिले निर्णय गर्न सकेको छैन।

यी क्षेत्रमा के गर्ने भन्नेबारे आवश्यक निर्णय गर्न शीर्ष नेतालाई समितिले अनुरोध गरेको छ। केन्द्रीय कार्यालय सानेपामा बारादेखि धनुषासम्मका नेता तथा कार्यकर्ता धर्ना र आमरण अनसनमा छन्।

उनीहरूका माग सम्बोधन गर्न सहमहामन्त्री प्रकाशशरण महत र पूर्वसहमहामन्त्री रामशरण महतलाई जिम्मेवारी दिइएको छ।
सेतोपाटीमा प्रशन्न पोखरेलले समाचार लेख्नुभएको छ । 

Comments

KATHMANDU WEATHER