Byroad News

Loading...

मुस्ताङमा भएको ट्रक दुर्घटनामा २ को मृत्यु, ४ घाइते


मुस्ताङमा भएको ट्रक दुर्घटनामा २ को मृत्यु, ४ घाइते

मुस्ताङ/३ साउन
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । 

ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको हो । 

मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गङ्गा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उहाँकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जीतबहादुर केसीले जानकारी दिनुभयो ।

नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेको उहाँले बताउनु भयो । चालकलाई  नियन्त्रणमा लिइएको जनाइएको छ । घाइते हुनेमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका– २ बस्ने २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी रहनु भएको छ । उहाँहरु मजदूरीका लागि मुस्ताङ पुग्नु भएको थियो ।

त्यसैगरी पर्वत जिल्ला जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा जिल्ला सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दावा शेर्पा हुनुहुन्छ । उहाँहरुको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्रकमा १ सय बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिनु भयो । जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ  ।

Comments

KATHMANDU WEATHER