काठमाडौं/१ साउन
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि रमेश लेखकको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले लगभग काम सकेको छ।
समितिका एक सदस्यका अनुसार छिटफुटबाहेक अधिकांश ठाउँमा विवाद मिलेको छ। ती सदस्यका अनुसार सोलुखुम्बु, बारा, सप्तरी, रसुवा, सिन्धुपाल्चोक र डोल्पामा नयाँ सदस्यतालाई मान्यता दिइएन। यी जिल्लामा १३ औँ महाधिवेशनका क्रियाशील सदस्यतालाई मात्र मान्यता दिइएको छ।
नयाँ सदस्यले मान्यता नपाएको भन्दै सिन्धुपाल्चोकमा नेता मोहन बस्नेतका समर्थकले छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गरेका छन्। धनुषा क्षेत्र नम्बर ३, कैलाली क्षेत्र नम्बर २ मा पनि नयाँ सदस्यतालाई मान्यता दिइएन। मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्र रहेको सुनसरी क्षेत्र-४ मा देखिएको विवाद अझै समाधान हुन सकेको छैन। प्युठानमा पनि विवाद समाधानको लागि प्रयास भइरहेको बताइएको छ।
पार्टी सभापति शेरबहादुर देउबाको जिल्ला डडेल्धुरामा देखिएको विवाद अन्तिम समयमा समाधान भएको छ। समितिले असार २० गतेसम्मको समयसीमा पाएपनि काम नसकिएपछि अनौपचारिकरुपमा असार मसान्तसम्म काम गर्न दिइएको हो। कांग्रेसले यसपटक क्रियाशील सदस्यता शतप्रतिशत बढाउने लक्ष्य राखेको थियो। अघिल्लो महाधिवेशनमा क्रियाशिल सदस्य ४ लाख ७० हजार थिए।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले छानविन समितिको प्रतिवेदन प्राविधिक काम पूरा गरी केही दिनमै पार्टी सभापति देउवालाई बुझाइने जानकारी दिए। साउन १२ गतेदेखि वडास्तरबाट अधिवेशन सुरु गर्ने नेपाली कांग्रेसको तयारी छ।
-
11 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments