काठमाडौं/२९ असार
कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।
संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो ।
सर्वोच्च अदालतले हिजो (सोमबार) संसद् पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
को हुन् देउवा ?
शेरबहादुर देउवा वि.सं. २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असीग्राम गाविस–५ र हालको गन्यापधुरा गाउँपालिका–१ मा जन्मिनु भएको हो ।
उहाँले प्राथमिक शिक्षा गाउँकै असिग्राम प्राथमिक विद्यालय र एसएलसी सीताराम मावि डोटीबाट पूरा गर्नु भएको हो । देउवा २०२० सालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय हुनु भएको थियो । उहाँ बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लाग्नु भएको हो ।
एसएलसीपछि देउवा उच्च शिक्षा लिन भारत नगई ०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुनु भएको थियो ।
यसपछि उहाँ नेविसंघभित्र राजनीतिमा सक्रिय हुनुभयो । यसक्रममा उहाँ विभिन्न समयमा पक्राउ पर्नु भयो । विद्यार्थी जीवनमा देउवा निडर र निर्भीक स्वभावको हुनुहुन्थ्यो ।
नेविसंघमा सक्रिय भएर काम गरिरहनु भएका देउवा वि.सं. २०२८ सालमा पहिलोपटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी हुनुभयो । नेविसंघको नेतृत्वमा आएपछि उहाँले आफ्नो राजनीतिलाई झन् सशक्त रूपमा अगाडि बढाउनु भयो । राजनीतिका सिलसिलामा देउवाले पटक–पटक गरी करिब ९ वर्ष जेलजीवन बिताउनु भएको छ ।
विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनु भएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारीमा खटाउनु भयो । त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला र बैतडी हुँदै डडेल्धुरा पुग्नु भएको थियो ।
जब ०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनआन्दोलन अगुवाइ गर्नु भयो, त्यतिबेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरिरहनु भएको थियो । जनआन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं फर्किनु भयो ।
०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्नु भयो । गृहमन्त्री बनेको पाँच वर्षभित्रै उहाँ मुलुकको प्रधानमन्त्री बन्नु भयो ।
राजनीतिको धेरै उतारचढाव खेपेका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उहाँले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाउनु भएको थियो ।
देउवा २७ भदौ २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्नु भएको थियो । कोइरालाले अघि बढाएका देउवाले पार्टीको १०औँ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिनुभयो । ०५७ मा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापति पदमा उम्मेदवारी दिनु भयो, तर उहाँ पराजित हुनुभयो ।
पहिलोपटक प्रधानमन्त्री बनेको ६ वर्षपछि ०५८ साउन ११ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बन्नु भयो । दोस्रो पटक प्रधानमन्त्री बनेपछि भने देउवाको जीवनमा धेरै उतारचढाव आएका छन्।
माओवादी सशस्त्र द्वन्द्व (जनयुद्ध) उत्कर्षमा पुगेका बेला संकटकाल लम्ब्याउने विषयमा निर्णय गरेको भन्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ०५९ जेठ १९ मा प्रधानमन्त्री भएकै बेला देउवालाई साधारण सदस्यताबाट समेत निकाली दिनुभयो ।
कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो भने एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेको थियो। जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ०५८ असारमा राजीनामा दिनु भयो ।
यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुनः कांग्रेस संसदीय दलको नेताका उम्मेदवार बन्ने मौका पाउनु भयो । उहाँ सुशील कोइरालालाई हराएर नेता बन्नु भएको थियो । संसद्मा पार्टीको बहुमत भएकाले उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नु भयो ।
दलहरूले निरन्तर आन्दोलन गरेपछि ०६१ साल जेठ २९ मा राजाले पुनः देउवालाई तेस्रोपटक प्रधानमन्त्री बनाउनु भयो । तर, तेस्रो पटकको प्रधानमन्त्री काल ८ महिनाभन्दा अघि बढ्न सकेन।
राजनीतिक घटना सँगसँगै विसं ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिनुभयो । त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्रविरुद्ध जनआन्दोलनको तयारीमा हुनुहुन्थ्यो ।
संसद् पुनस् स्थापनापछि गिरिजाप्रसाद पुनः एकपटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आउनुभयो । त्यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किनु भयो।
०७२ सालको तेह्रौं महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय हुनुभयो ।
२३ जेठ ०७४ मा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । देउवा ०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका हुनुभयो ।
-
11 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments