Byroad News

Loading...

सुरक्षा प्रमुख र जिल्ला प्रशासनलाई सुरक्षा व्यवस्था कडा पार्न गृहको विशेष परिपत्र


सुरक्षा प्रमुख र जिल्ला प्रशासनलाई सुरक्षा व्यवस्था कडा पार्न गृहको विशेष परिपत्र

काठमाडौं/२८ असार
प्रतिनिधि सभा पुनःस्थापना र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सर्वोच्च अदालतबाट भएको परमादेशपछि गृह मन्त्रालयले देशभर उच्च सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक सर्कुलर गरेको छ ।

गृहसचिव महेश्वर न्यौपानेले सोमबार साँझ सचिव स्तरीय बैठकबाट निर्णय गरेर देशभर उच्च सुरक्षा सतर्कता अपनाउन र त्यसका लागि विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिनु भएको हो ।

गृहले यसका लागि प्रशासन र सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजना लागू गर्न पनि भनेको छ । प्रधानमन्त्रीमा प्रमुख प्रतिपक्षी काङ्ग्रेस सभापति देउवालाई नियुक्ति गर्न अदालतबाट परमादेश जारी भएसँगै पक्ष र विपक्षमा सडक आन्दोलन हुनसक्ने आकलन गरेको छ ।

गृहले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई पठाएको आन्तरिक परिपत्रमा भनिएको छ, ‘प्रमुख जिल्ला अधिकारीले जिल्लास्थित विभिन्न दल तथा तीनका भ्रातृसंघसंगठनबाट हुनसक्ने कार्यक्रम तथा प्रदर्शनको पूर्वजानकारी लिने, जिल्लास्थित सुरक्षा निकायहरुलाई प्रभावकारी परिचालन गर्ने र समन्वय सुदृढ बनाउने ।’

गृहले राजनीतिक दलबाट हुने सम्भावित बन्द, हडताललगायतका कार्यक्रम लक्षित गरी गस्ती, पिकेटिङलगायतका सुरक्षा गतिविधिलाई थप सघन बनाउन पनि निर्देशन दिएको छ । शान्ति सुरक्षालाई खलल पुग्ने कुनैपनि गतिविधि गर्न नदिन पनि सुरक्षा निकाय र जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

Comments

KATHMANDU WEATHER