Byroad News

Loading...

दार्चुलाको पहिरोमा परी ३ जनाको मृत्यु


दार्चुलाको पहिरोमा परी ३ जनाको मृत्यु

दार्चुला/२४ असार
दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका ३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, डीएसपी मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उहाँकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिनुभयो ।

यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डीएसपी भट्टले बताउनु भयो । उहाँहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका ३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको छ ।

यसैबीच, बाढीले नौगाढ गाउँपालिका ३ मा रहेको ३२ किलो वाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको एसपी भट्टले जानकारी दिनुभयो ।

बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको उहाँले बताउनु भयो । 

सदरमुकामबाट झण्डै ८ घण्टाको पैदल दूरीमा रहेको उक्त ठाउँमा पहिरोमा फसेका मानिसको उद्दारका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिसकेको छ । 

स्थानीयको सहयोगमा अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER