काठमाडौं/२३ असार
नेपाली कांग्रेसमा क्रियाशील सदस्य झण्डै साढे ८ लाख पुगेको छ । १३ औं महाधिवेशनको क्रियाशील सदस्य संख्यालाई दोब्बर (१० लाख) पुर्याउने भनिए पनि ८ लाख ४६ हजार ७२९ पुगेको छानविन समितिले जनाएको छ ।
छानविनकै क्रममा क्रियाशील सदस्यको संख्या केही थपघट हुने समितिका एक सदस्यले जानकारी दिनुभयो ।
साढे आठ लाख क्रियाशील सदस्यमध्ये चार लाख ४२ हजार ८१६ नयाँ हुन् । तर करिव ७० हजारले क्रियाशील सदस्यता नविकरण नगरेको पाइएको छ । अघिल्लो महाधिवेशनमा चार लाख ७० हजार क्रियाशील सदस्य रहेकामा १४ औं महाधिवेशनका लागि पुराना चार लाख ३ हजार ९१३ जनाले मात्रै सदस्यता नविकरण गरेका छन् ।
कांग्रेसले विधानमा सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरे पनि क्रियाशील सदस्य भने जम्मा २३ प्रतिशत मात्र महिला छन् । कुल साढे ८ लाख क्रियाशील सदस्यमध्ये करिब ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला छन् ।
छानविन समिति सदस्य प्रदीप पौडेलले ठूलो संख्यामा क्रियाशील सदस्यता नविकरण नहुनु समीक्षाको विषय भएको बताउनु भयो । उहाँका अनुसार पुराना क्रियाशीलमध्ये मृत्यु भएका र पार्टी छोडेकाको तथ्यांक कांग्रेससँग छैन ।
कुन उमेरका कति ?
उमेर समूह अनुसार हेर्दा कांग्रेस क्रियाशील सदस्यमा युवाको संख्या करिव ३३ प्रतिशत छ । समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्य ४.६४ प्रतिशत, २६ देखि ४० वर्षका २८.५७ प्रतिशत छन् । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिन्छ ।
क्रियाशील सदस्यता छानविन समितिका अनुसार ७७ वटै जिल्लाबाट सदस्यको नाम इन्ट्री भइसकेको छ । विदेशमा रहेका जनसम्पर्क समितिबाट सदस्यताको सूची आउन बाँकी छ ।
कांग्रेसले क्रियाशील सदस्यता छानविन टुंग्याउन २० असारसम्मको समयसीमा दिएको थियो । समितिका प्रवक्ता पौडेलले असार मसान्तसम्म सदस्यता टुंग्याउने बताउनु भयो ।
कांग्रेसको १४ औं महाधिवेशन १६ भदौदेखि १९ सम्म काठमाडौंमा सम्पन्न हुँदैछ । महाधिवेशनको प्रक्रिया सुरु गर्न क्रियाशील सदस्यता टुंग्याउनुपर्ने वैधानिक व्यवस्था छ । कांग्रेसको प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता टुंगो लागेपछि मात्रै स्थानीय अधिवेशन सुरु हुन्छ ।
-
8 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments