Byroad News

Loading...

असार भित्र मोर्चा संगठनहरु विस्तार गर्न एमाले मकवानपुरको निर्देशन


असार भित्र मोर्चा संगठनहरु विस्तार गर्न एमाले मकवानपुरको निर्देशन

हेटौंडा/२३ असार
नेकपा (एमाले) मकवानपुरले आफ्नो मोर्चा संगठनलाई असार महिनाभित्र जिल्ला कमिटी, गाँउ तथा संगठन कमिटीहरु विस्तार गर्न निर्देशन दिएको छ । 

बुधबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको मोर्चा संगठनको संयोजक, सहसंयोजक तथा सचिवहरुको संयुक्त बैठकमा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले असारभित्र सबै मोर्चा संगठनको जिल्ला कमिटी विस्तार गरिसक्न निर्देशन दिनु भएको हो ।

नेकपा एमालेलाई चलायमान राख्नका लागि मोर्चा संगठनको प्रमुख भूमिका हुने भन्दै अध्यक्ष श्रेष्ठले कुनैपनि विषयमा अन्योलमा नपर्न समेत मोर्चा संगठनको नेतृत्वलाई सुझाव दिनु भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नेतृतवको एमाले नै मुलधार रहेको भन्दै अध्यक्ष श्रेष्ठले मोर्चा संगठनको जिम्मेवारी बहन गर्न निर्देश गर्नु भएको हो ।

कोरोना महामारी तथा प्राकृतिक विपत्तिको समयमा मोर्चा संगठनले महत्वपूर्ण जिम्मेवारीको साथ काम गरिरहेको उल्लेख गर्दै उहाँले मकवानपुरमा क्रियाशील करिब दुई दर्जन मोर्चा संगठन असारभित्रै विस्तार भई चलाएमान गराउन निर्देशन दिनु भएको हो । एमाले सरकारले गरेको विकासको कामको प्रचार गर्ने, समाजमा भएका विकृतिलाई न्यूनिकरण गर्ने अभियान सञ्चालन गर्दै पार्टीलाई थप उचाईमा पुर्याउन मोर्चा संगठनहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले मोर्चा संगठन चलायमान रहे पार्टी थप बलियो हुने बताउनु भयो ।

बैठकमा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टीको केन्द्रमा देखिएको विवादको कारण जिल्लामा मोर्चा संगठनहरु अन्यौलमा पर्नु नपर्ने बताउनु भयो । 

जिल्लाका मोर्चा संगठनहरुले निर्धक्क भएर कमिटी विस्तारको अभियान सञ्चालन गर्दै आफ्ना गतिविधिलाई निरन्तरता दिन समेत उहाँले निर्देशन दिनुभयो ।

बैठकमा अनेरास्ववियु, युवा संघ, अनेमसंघ,खेलकुद महासंघ, मुस्लिम, जनजाती, जनसाँस्कृतिक महासंघ, कानुन व्यवसायी, व्यापार संघसहितका एमालेका मोर्चा संगठनका नेताहरुको सहभागिता थियो ।

Comments

KATHMANDU WEATHER