Byroad News

Loading...

एमालेमा नयाँ शिराबाट समाधान खोज्न कार्यदलमा सहमति


एमालेमा नयाँ शिराबाट समाधान खोज्न कार्यदलमा सहमति

काठमाडौं/२२ असार
आन्तरिक विवाद समाधानका लागि गठित नेकपा (एमाले) को कार्यदल पुनः सक्रिय भएको छ ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको हिजो (सोमबार) बैठक बसेको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

सिंहदरबारमा सोमबार साँझ बसेको बैठकले हालसम्मका अनौपचारिक छलफल पुनरावलोकन गरेको र पार्टीभित्रै बसेर आन्तरिक समस्या समाधान गर्ने कुरा भएको एमालेका सचिव गोकर्णराज विष्टले जानकारी दिनुभयो । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको छ ।

कार्यदलको बैठक आज (मङ्गलबार) अपराह्न पुनः बस्नेछ । एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न सोमबार साँझ ५ बजेसम्म समय दिइएको सन्दर्भमा कार्यदल सक्रिय भएको हो ।

नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा. भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त हुनुहुन्छ ।

नेकपा माओवादी (केन्द्र)सँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो ।

Comments

KATHMANDU WEATHER