काठमाडौं/२१ असार
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बिद्रोही पक्षका नेताहरुलाई विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन दिएको समयसीमा सकिएको छ।
ओलीले पछिल्लो पटकको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमार्फत वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ जना नेताहरुलाई हस्ताक्षर फिर्ताका लागि सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिनु भएको थियो ।
आफूले दिएको समयसीमाभित्र नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिए पार्टी एकताको आधार नबन्ने घोषणा गर्नु भएको थियो । तर नेपाल पक्षले ओलीको निर्देशन अनुसार हस्ताक्षर फिर्ता नलिने अडान कायमै राखेको छ।
यो बीचमा पार्टी एकताका लागि ओलीले आफ्नातर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेललाई नेपाललाई सहमत गराउन उहाँको निवास कोटेश्वर पठाउनु भएको थियो ।
तर नेपालले सर्वोच्च अदालको मुद्दा प्रभावित हुनेगरी आफूहरुले हस्ताक्षर फिर्ता नलिने अडानबाट पछि हट्नु भएन । त्यसपछि ओलीले आइतबार राति नेपाल पक्षका नेता भीम रावललाई बालुवाटार बोलाएर उहाँसमक्ष पार्टी एकताका लागि आफूले अधिकतम लचकता अपनाएको र अब नेपाल पक्षबाट लचकता अपनाउनुपर्ने अडान राख्नु भएको थियो ।
तर रावलले हस्ताक्षर फिर्ता नहुने, बाँकी विषयको सहमतिका लागि कार्यदल ब्यूँताएर प्याकेजमा सहमति खोज्नु पर्ने अडान ओलीसमक्ष राख्नु भएको थियो ।
ओली पक्षका नेताहरुसँग लगातार वार्ता गरिरहनु भएका नेपाल पक्षका भीम आचार्यले भन्नुभयो, ‘हामी एकताको प्रयासबाट थाकेका छैनौँ। एकता नै अन्तिम विकल्प हो। तर मुलभूत विषयमा कुरा नमिली अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सम्भव छैन। त्यसको कुनै औचित्य पनि छैन।’
यसअघि नेपालले तीन दिनअघि असार १९ गते निर्धारित आफू पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित गर्न ओलीलाई टेलिफोनबाट आग्रह गर्नु भएको थियो । तर ओलीले बैठक स्थगित गर्नु भएन । त्यसको दुई दिनअघि पनि नेपाल र ओलीबीच पार्टी एकतालाई लिएर टेलिफोन वार्ता भएको थियो। ओलीले नेपाल पक्षको माग अनुसार नै पार्टी २ जेठ २०७५ मा फर्किसकेकाले पार्टीको निर्देशन अनुसार उहाँहरुले बैठकमा भाग लिनुपर्ने अडान राख्नु भएको थियो ।
तर नेपाल पक्षले माओवादी पृष्ठभूमिका २३ जना नेतासहितको कमिटीलाई केन्द्रीय कमिटीका रुपमा स्वीकार्न नसकिने अडान राख्दै पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित २ सय ३ सदस्यीय केन्द्रीय कमिटी ब्यूँताउनु पर्ने अडान राख्दै आउनु भएको छ ।
ओलीले आफ्नो निर्देशन पालना नगर्नेहरु एमाले रहन नसक्ने घोषणा समेत गर्नु भएको छ । संसद विघटनविरुद्ध परेको मुद्दामा आदेश आएको भोलिपल्ट आफूले केन्द्रीय कमिटी बैठक बोलाउने उहाँको घोषणा छ। उक्त बैठकबाट ओलीले हस्ताक्षर फिर्ता नलिनेलाई फेरि पनि कारवाही गर्नु हुने बुझिएको छ ।
-
6 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments