Byroad News

Loading...

किर्ते नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ


किर्ते नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ

काठमाडौं/२० असार
छोरी ज्वाइँलाई छोरो बनाएर किर्ते गरी नागरिकता दिलाएको आरोपमा दाङमा वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भिमबहादुर खड्का, सोही वडाका भिमबहादुर कामी र उहाँकी छोरी सुशीला विक हुनुहुन्छ ।

उहाँहरु तीनै जनालाई आइतबार अपराह्न नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासले जानकारी दिनुभयो ।

स्थानीयले किर्ते नागरिकताबारे उजुरी गरेपछि अनुसन्धान गर्दा भिमबहादुर कामीले छोरी ज्वाइँ अर्जुन विकलाई आफ्नो दिवंगत छोरो लिलाराम विकको नामबाट नागरिकता दिलाएको खुलेको खवासले जानकारी दिनुभयो ।

२०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको नागरिकतामा खवासकै हस्ताक्षर छ ।

‘कागजपत्र हेर्दा शंका गर्ने ठाउँ कतै देखिँदैन,’ खवासले भन्नुभयो, ‘स्थानीयले तीन दिन अगाडि उजुरी गरेपछि बुझ्दै जाँदा त ज्वाइँलाई छोरो भनेर नागरिकता दिलाउन सिफारिस गरेको पाइयो ।’ यसरी नागरिकता लिएपछि अर्जुन र सुशीला श्रीमान–श्रीमती भए पनि कागजपत्रमा उहाँहरु दाजु–बहिनी बनेको पाइएको छ ।

यो काममा भिमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको खवासले बताउनु भयो । नागरिकता सिफारिस गरेकाले वडाध्यक्ष खड्कालाई पनि नियन्त्रणमा लिइएको र उहाँले गल्ती स्वीकार गरेको खवासले बताउनु भयो ।

किर्ते नागरिकतामा लिलाराम विक नाम राखेका अर्जुन विक हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको भनेर सुशीलाले बताएको उहाँले जानकारी दिनुभयो । सुशीलाले चितवन घर भएका अर्जुनसँग बिहे गरे पनि घरको पूरा ठेगाना थाहा नभएको बयान दिनु भएको छ ।

चितवन प्रशासनसँग पनि समन्वय गर्दै नागरिकता खारेजको प्रक्रियाका लागि सदरमुकाम घोराहीस्थित जिल्ला प्रशासन कार्यालयमा पठाइने इलाका प्रशासन कार्यालय लमहीका प्रमुख खवासलाई उदृत गर्दै अनलाइन खबरले समाचार लेखेको छ ।

Comments

KATHMANDU WEATHER