Byroad News

Loading...

घरेलु कामदारको हत्या भएको भन्दै आफन्तको विरोध


घरेलु कामदारको हत्या भएको भन्दै आफन्तको विरोध

काठमाडौं/१९ असार
काठमाडौं कपनस्थित डा. भरत थापाको घरमा मृत भेटिएका गणेश भण्डारीकोे हत्या भएको भन्दै आफन्तले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

भण्डारीको हत्या भएको दावी गर्दै दोषीलाई कारबाही गर्न माग गर्दै आफन्तले प्रहरी वृत्त बौद्धमा शनिबार प्रदर्शन गरेका छन् । उनले घरधनीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन पनि माग गरेका छन् ।

२७ वर्षका भण्डारी थापाको घरमा दुई वर्षदेखि घरेलु कामदारको रुपमा काम गर्दै आएका थिए । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार असार १५ गते भण्डारी बेहोस भएको खबर आएको थियो ।

त्यसपछि प्रहरी थापाको घरमा पुगेको थियो । तर प्रहरी पुग्नुअघि नै ग्राण्डी अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको डीएसपी न्यौपानेले बताउनु भयो ।

ग्राण्डी अस्पताल प्रहरी वृत्त महाराजगञ्जको क्षेत्रमा पर्ने भएकाले मृतकका दाजुले प्रहरी वृत्त महाराजगञ्जमा ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएको वौद्धका डीएसपी न्यौपानेले जानकारी दिनु भयो ।

उहाँका अनुसार आफन्तले शनिबार कार्यालय अगाडि आएर किटानी जाहेरी लिएर तत्कालै पक्राउ गरेर काबाही अघि बढाउनु पर्ने माग राखेका छन् । आफन्तले शव पोष्टमार्टम गर्न समेत मानेका छैनन् ।

Comments

KATHMANDU WEATHER