Byroad News

Loading...

पहिरो कारण काठमाडौं जोड्ने सबै सडक मार्ग अवरुद्ध, थाहामा के के भयो !


पहिरो कारण काठमाडौं जोड्ने सबै सडक मार्ग अवरुद्ध, थाहामा के के भयो !

हेटौंडा/१९ असार
दुई दिनदेखि परेको निरन्तर वर्षाको कारण आएको बाढी तथा पहिरोले हेटौंडाबाट काठमाण्डौ जोड्ने सबै सडक मार्गहरु अवरुद्ध भएको छ ।

हेटौंडाबाट काठमाण्डौ जोड्ने छोटो सडकमार्ग तीन दिनदेखि बन्द रहेको छ ।

सडकमार्गको हेटौंडा-भैसे सडक खण्डमा भिमफेदी गाउँपालिकामा वडा नंबर १ बाघझोरामा, भैसे-भीमफेदी-फाखेल र सिस्नेरी सडक खण्डमा भीमफेदी गाउँपालिका-२ पान्द्राङ,भीमफेदी गाउँपालिकापा-६ गढी, देउराली, ईन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ महा लक्ष्मीखोला , ईन्द्रसरोबर गाउँपालिका वडा नं. २ कुलेखानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

यसैगरि कान्तिलोक पथ अन्तर्गत भिमफेदी गाउँपालिका ८ कोगटेमा पहिरोले सडकको पिचनै बगाएको प्रहरीले जनाएको छ । कान्तिलोक पथकै ललितपुरको भट्टेडाडामा पनि पहिरो गएको छ । पहिरोको कारण सडकमार्ग अवरुद्ध रहेको छ ।

यसैगरि हेटौंडा काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ (भैसे-पालुङ-नौबिसे) सडक खण्डको भिमफेदी गाउँपालिका वडा नं. ९ अघोरमा सडक अवरुद्ध रहेको जनाएको छ ।

अहिले पनि मकवानपुरको विभिन्न स्थानमा वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या रहेको प्रहरीले जनाएको छ । मौसममा सुधार आएपछि पहिरो पन्छाउने कार्य सुरु गरिने र अवरुद्ध यातायात सेवा सूचारु गरिने प्रवक्ता दासले बताउनु भयो । उहाँका अनुसार जिल्लामा हालसम्म बाढी तथा पहिरोको कारण कुनै पनि मानविय क्षती भएको छैन ।

यसैगरी, पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथको पालुङ-नौविसे खण्ड सुचारु भएको छ । पालुङ प्रहरीले रातिदेखि नै पहिरो हटाउने कामलाई जारी राखेपछि बाटो खुलेको हो ।

उता, हिजो साँझदेखि परेको अविरल वर्षाले धेरै परिवारलाई रातभरी सुत्न दिएनन् । थाहाको आग्रा ७ को तल्लो वस्तिका केही घर परिवार राती साँढे १० बजे नै घर छोडेर अन्यत्र निस्केका थिए । यसैगरी थाहा नगरको दम्की तल्लो क्षेत्रका बासिन्दा पनि घर नजिकको खोलामा बहाव बढेपछि राती ११ बजे नै घर छोडेर निस्किएको वडा सदस्य कबिता कार्कीले जानकारी दिनु भयो । 

त्यसैगरी, फेदिगाउ क्षेत्रका बासिन्दा पनि रातभरी सुत्न सकेका छैनन् । धेरैजसो तल्लो गाउँबाट असुरक्षित महसुस गरिरहेका थिए । 

अङ्गारेको माथिल्लो खोल्साबाट आएको बाढी सडकै सडक बगेका छन् । नयाँ बाटोको ट्राकका कारण रुख हाङ्गाविङ्गाले खोल्सा अवरुद्ध गरेपछी बाढी सडकै सडक बगेको अङ्गारेबाट पत्रकार अनन्त ढकालले जानकारी दिनु भएको छ । 

अहिले भित्री सडक सञ्जालहरु मुख्य सडकसङ्ग सम्पर्क विच्छेद भएको छ । वर्षातका कारण अवरुद्ध विद्युत अहिले ९ बजे सुचारु भएको छ । 

साना ठूला खोल्सामा आएको बाढीले खोल्सा नजिकका खेतबारीमा लगाइएको तरकारी बाली नष्ट गरेको छ ।

थाहा ७ घट्टेखोलामा माथिबाट आएको पहिरोले गोठ भत्काउदा भैंसी र बाख्रा मरेको खबर छ । अहिलेसम्म मानवीय क्षति भएको छैन । तर सबैतिर जनजीवन असामान्य बनेको छ । नगरका नयाँ सडकका ट्राकहरुमा पहिरो गएर अवरुद्ध भएको छ । केही घरहरुमा पानी छिरेको छ । थप विवरण आउन बाकी छ ।

Comments

KATHMANDU WEATHER