काठमाडौं/१७ असार
उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपद व्यवस्थापन तथा सोबाट हुनसक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनु भएको छ । बिहीबार गृहमन्त्रालयमा बसेको विपद् सम्बन्धी बैठकमा मन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिनु भएको हो ।
मन्त्री पौडेलले विपद व्यवस्थापन तथा पूर्व तयारीका साथसाथै, उद्धार, राहत र पुनःस्थापनाको कार्यलाई समेत उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिनु भयो । विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभयो ।
राहत र उद्धारका लागि स्रोतको कुनै अभाव नहुने जानकारी दिनु हुँदै मन्त्री पौडेलले विपदका घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन सरोकारवाला पक्षलाई सचेत गराउनु भयो ।
राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिनु हुँदै उहाँले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नु भयो । क्षति न्यूनिकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिनु हुँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनः स्थापना र पुनः निर्माणका लागि समय तालिका बनाएर काम गर्न समेत निर्देशन दिनु भयो ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताउनु भयो ।
बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनःस्थापना र पुनः निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बताउनु भयो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिचाँई, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता थियो ।
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments