Byroad News

Loading...

सार्वजनिक यातायात खुलेको पहिलो दिन यात्रुको भिड


सार्वजनिक यातायात खुलेको पहिलो दिन यात्रुको भिड

काठमाडौं/१५ असार
काठमाडौं उपत्यकामा झण्डै दुई महिनापछि मंगलबारदेखि सार्वजनिक सवारी सञ्चालनमा आएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएको छ । यसरी सवारी साधन चलाउँदा स्वीकृत सिट संख्याभरि मात्र यात्रु बस्न पाउँछन् ।

तर सार्वजनिक बस सञ्चालनको पहिलो दिन  चालक, सहचालक र यात्रुसमेत धेरै सचेत भएको देखिएन । धेरै बसमा सेनिटाइजर राखिएको छैन भने कतिपय यात्रुले मास्क लगाएका छैनन् । थोरै बस चलेका कारण यात्रुको संख्या बढी छ । बसमा सिट संख्या भन्दा बढी यात्रु राख्न दिएको छैन । बस संख्या कम हुँदा सर्वसाधारणले सहज ढंगले यात्रा गर्न पाएका छैनन् ।

यातायात व्यवसायीहरुले सार्वजनिक सवारीमा देखिएकोे यो अव्यवस्था अवैज्ञानिक निर्णयको परिणाम भएको आरोप लगाएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायातमा जोरबिजोर लगाएर सरकारले अवैज्ञानिक निर्णय गरेको आरोप दोहोर्याउनु भयो ।

दुई महिनापछि खुलेको सार्वजनिक सवारीमा यात्रुको चाप बढी हुन्छ भन्ने जान्दाजान्दै जोरबिजोर प्रणाली लगाएर आफैँले अव्यवस्था निम्त्याएको आरोप उहाँको छ । 

जोरबिजोरको नीति संशोधन र लामो दुरीको सवारी सञ्चालन गर्न माग गर्दै आएको यातायात व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार छलफलको लागि बोलाएको थियो ।

छलफलमा आफूहरुले आफ्नो माग स्पष्ट राखेको भन्नु हुँदै सिटौलाले प्रशासनले १७ गते सबै पक्षबीच छलफल गरेर यसको समाधान खोज्ने बताएको जानकारी दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सर्वसाधारणले स्वास्थ्यप्रति गरेको हेलचेक्याइँ दुःखद् भएको बताउनु हुन्छ । यस्तो हेलचेक्याइँ नरोकिने हो भने प्रशासनले बल प्रयोग गरेर निर्णय कार्यान्वयन गर्न बाध्य हुने उहाँको भनाइ छ ।

मंगलबार विभिन्न बस स्टेसनमा पुग्दा सार्वजनिक सवारी कुर्नेको भिड देखिन्थ्यो, अनलाइन खबरले समाचार लेखेको छ । तर प्रशासनले भने भिड कम गर्न भन्दै जोरबिजोर प्रणाली लगायो ।

Comments

KATHMANDU WEATHER