Byroad News

Loading...

राजु नापित, दु:खीहरुको भरोसा हुनुहुन्थ्यो


राजु नापित, दु:खीहरुको भरोसा हुनुहुन्थ्यो

थाहानगर/१५ असार
नेकपा एमाले थाहानगर कमिटीले १५ असारमा आयोजना गरेको श्रद्धाञ्जली सभामा स्वर्गीय राजु नापितको योगदानको चर्चा गरिएको छ । नापितको १३ औं दिनको पुण्यतिथिमा एमाले थाहा नगर कमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् थाहा नगर इन्चार्ज नापितको गत ३ असारमा कोरोना संक्रमणबाट निधन भएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले स्व. नापितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपन्न र दुःखीहरुको भरोसा बनेका नापितका अधुरा कामहरु पूरा गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा एमालेका नेता सुभाषचन्द्र ठकुरीले नापित निष्ठावान र अनुशासित व्यक्तित्व भएको उल्लेख गर्नु भयो । उहाँले थाहा नगरपालिकाका कुनाकुनाका पहुँचविहिन परिवारलाई राजु नापितले चिन्ने र त्यस्ता परिवारले पनि नापितलाई चिन्ने गरेको स्मरण गर्नु भयो ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजनीतिक दर्शन अलग भए पनि आफू दशैंको टीकामा समेत नापितको घरमा जाने गरेको बताउनु हुँदै नगरको विकासका लागि आफ्नो प्रतिकूल स्वास्थ्य अवस्थाका बावजुद पनि नापित सँधै तयार रहने गरेको अनुभव सुनाउनु भयो । प्रदेश र संघका कतिपय निकायहरुमा नापितको सम्बन्ध र परिचय राम्रो भएकोले आफू नापितसँगै जाने गरेको पनि उहाँले बताउनु भयो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य शशीधर सुवेदीले २०४१ सालमा नापितसँग पहिलोपटक पार्टी कामकै शिलशिलामा भेटेको उल्लेख गर्दै नापितमा कुरा, विचार, स्वभाव, शैली, काम र हैसियत सबै क्रान्तिकारी रहेको बताउनु भयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुखहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । सो क्रममा नेपाली काँग्रेसका थाहा नगर उपसभापति भरत गोपालीले नापित पार्टी भन्दा माथि समाजलाई हेरेर काम गर्ने व्यक्तित्व भएको उल्लेख गर्नु भयो ।

नेकपा माओवादी केन्द्रका थाहा अध्यक्ष अरुण रायमाझीले २०६२/०६३ को आन्दोलनको अगुवाइ नापितसँगै आफूले गरेको स्मरण गर्दै नापितको निधनले सिङ्गो मकवानपुरको उत्तरी क्षेत्रलाई ठूलो क्षति पुगेको बताउनु भयो ।

जनता समाजबादी पार्टी नेपालका प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठले नापित भद्र र शालीन व्यक्तित्व भएको उल्लेख गर्नु भयो । ‘मान्छेको जीवन अदालतमा चलिरहेको मुद्धाजस्तै भएको र चिहानमा मात्र उसका फैसला हुने’ बताउँदै उहाँले मृत्युपछि अहिले नापितको सकारात्मक फैसला भइरहेको बताउनु भयो ।

कार्यक्रममा जङ्गली राजकुमार प्रधान र बुद्धरत्न मानन्धरले नापितको राजनीतिक यात्राको चर्चा गर्नु भएको थियो । कार्यक्रम नेकपा एमाले थाहा नगर कमिटी अध्यक्ष अच्युत्तमप्रसाद ढकालको अध्यक्षतामा भएको थियो ।

Comments

KATHMANDU WEATHER