Byroad News

Loading...

मकवानपुरमा असार २१ गते सम्म निषेधाज्ञा थप (हेर्नुस के के खुल्ने के के बन्द हुने)


मकवानपुरमा असार २१ गते सम्म निषेधाज्ञा थप (हेर्नुस के के खुल्ने के के बन्द हुने)

थाहानगर/१४ असार
जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई असार २१ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।

प्रशासनका अनुसार नीजि सवारी जोरबिजोर प्रणालीमा संचालन गर्न पाईने छ भने सार्वजनिक यातायात बन्द रहने छ । 

जिल्लामा कोरोनाको जोखिम घट्दै गएको तर जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम असार २१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

निषेधाज्ञामा अत्यावश्यक काम परी घर बाहिर निस्कनु पर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने, औषधी पसल, कृषि बीउबीजन तथा मल विकी वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

यसैगरी, अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु , अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू विहान ४ बजेदेखि विहान १० बजेसम्म मात्र खोल्न पाइने, पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरु, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचर/फर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म मात्र सञ्चालन हुने गरी खोल्न पाइने निषेधाज्ञा निर्णयमा उल्लेख छ ।

तर , फुटपाथमा पसल राख्न नपाउने, प्रेस तथा फोटोकपी पसलहरू र फोटो स्टुडियोहरू बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म मात्र खोल्न पाइने, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म खोल्न पाइने उल्लेख छ ।
 
पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने जनाएको छ । उल्लेखित जनस्वास्थ्यका मापदण्डहरू पालना नभएको पाइएमा अनुगमन समितिको सिफारिसमा उक्त पसल तथा व्यवसाय निषेधाज्ञा अवधिभरको लागि बन्द गरिने सूचनामा जनाइएको छ । 

माथि उल्लेखित बाहेकका अन्य सबै प्रकारका पसल तथा व्यवसायहरू बन्द रहने सूचनामा उल्लेख छ । 

एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी,  पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि तथा बीउबीजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने आज प्रकाशित सूचनामा उल्लेख छ । 

Comments

KATHMANDU WEATHER