Byroad News

Loading...

बालसुधार गृहबाट हामफालेर ३ जना भागे


बालसुधार गृहबाट हामफालेर ३ जना भागे

विराटनगर/१२ असार
विराटनगरस्थित बालसुधार गृहमा राखिएका चार जना बालक बिझ्याइँकर्ता भागेका छन् । उनीहरु तीन तलामाथिबाट हामफालेर भागेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये एक जना पुनःपक्राउ परेका छन् भने अरु तीन जना फरार छन् ।

बालसुधार गृहका प्रमुख मिलन चौहानका अनुसार भाग्दाभाग्दै पक्राउ परेका बालक झापाका हुन् । उनीमाथि जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला सुनाइएको छ । सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएका तीन जना बालक अझै भेटिएका छैनन् ।

शनिबार बिहान करिब ३ बजे उनीहरु चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेका हुन् । भागेकामध्ये दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि बालसुधार गृहमा थिए । अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

फरार भएकामध्ये एक जनालाई भने विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पुर्पक्षका लागि राखिएको थियो ।

प्रदेश १ मा बालबिझ्याइँ र कानुनी द्वन्द्वमा मुछिएका बालकहरुलाई राख्नका लागि विराटनगरमा ५० जना क्षमताको बालसुधार गृह छ । तर अहिले गृहमा चार गुणा बढी एक सय ९५ जनालाई राखिएको छ ।

Comments

KATHMANDU WEATHER